काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिंदैछ । यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय÷पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको कल ट्रान्सफर सुविधाले केही राहत दिनसक्छ । 
 
नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर र्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ । 
 
यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ । कल गरिएको नम्बर व्यस्त भएमा व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो आन्सर ट्रान्सफर भएमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ । 
 
कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध छन् । सबै सुविधाहरु सक्रिय वा निष्क्रिय गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही कीवर्डहरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ntc.net.np बाट प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।