काठमाण्डौ । विश्व हाल कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको कहर झेलिरहेको छ। गत वर्ष डेल्टा भेरिएन्टले मानिसको स्वास्थ्य जोखिममा परेको थियो। यो भेरिएन्टले अहिले पनि मानिसहरु संक्रमित भइरहेका छन्। 

विश्वभर अहिले डेल्टा र ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै जान थालेको छ। यहीबीच वैज्ञानिकहरुले साइप्रसमा अर्को तेस्रो भेरिएन्ट पत्ता लगाएका छन्। जुन डेल्टा र ओमिक्रोनको लक्षणसँग मिल्दोजुल्दो छ। 

वैज्ञानिकहरुले पत्ता लगाएका तेस्रो भेरिएन्टलाई ‘डेल्टाक्रोन’ नाम दिएका छन्। यो भेरिएन्टा डेल्टा र ओमिक्रोनको संयोजनबाट आएको उनीहरुको दाबी छ।

बायोटेक्नोलोजी र मोलिक्युलर बायरोलोजीको प्रयोगशाला प्रमुख युनिभर्सिटी अफ साइप्रसका प्रोफेसर लियोनडिओस कोस्त्रिकिसले आफ्नो प्रतिवेदनमा डेल्टाक्रोनबाट संक्रमित हुने संख्या हाल विश्वभर २५ मात्र रहेको उल्लेख छ। यी व्यक्तिहरुमा डेल्टा र ओमिक्रोनको दोहोरो संक्रमण देखिएको प्रतिवेदनमा जनाइएको छ। 

कोस्त्रिकिसले स्थानीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै हाल डेल्टा र ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्दै गए पनि यी दुवै भेरिएन्टको संयोजनबाट उत्पन्न डेल्टाक्रोनबाट संक्रमित भएकाहरु देखिन थालेको बताए। ‘तर डेल्टा र ओमिक्रोनभन्दा डेल्टाक्रोन अधिक संक्रामक छ वा छैन भन्ने यकिन भइसकेको छैन, यसमा थप अध्ययन गर्न आवश्यक छ’, उनले भने, ‘यद्यपि डेल्टाक्रोनमा डेल्टा र ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।’

विश्व स्वास्थ्य संगठन र अन्य कुनै अन्तर्राष्ट्रिय निकायले भने हालसम्म यो नयाँ भेरिएन्टका विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। – एजेन्सी