काठमाण्डौ । तीनवटा प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले कोरोना महामारीका कारण विश्व अर्थतन्त्र सोचेभन्दा पनि खराब हुने निर्क्यौल निकालेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मेलन र विश्व बैंकले विश्व अर्थतन्त्रको गति अनुमान गरेभन्दा सुस्त हुन सक्ने चेतावनी दिएका छन्। यसका साथै आम्दानीमा कमी आएपछि ५ हजारभन्दा बढी बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो प्रत्यक्ष विदेशी लगानीमाथि रोक लगाउने सक्नेछन्। 

आईएमएफले कोरोना महामारीले विश्व अर्थतन्त्रलाई अनुमान गरेभन्दा बढी प्रभावित पार्ने र सन् २०२१ मा सुस्त रुपमा पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। आईएमएफको वल्र्ड इकोनोमी आउटलुकको ताजा संस्करणका अनुसार सन् २०२० मा विश्वको जीडीपीमा ५ प्रतिशतको संकुचन आउनेछ। 

संयुक्त राष्ट्र व्यापार एवम विकास सम्मेलनले विश्वका कम्पनीहरुको आम्दानीमा ४० प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरेको छ। संस्थाले आफ्नो नवीनतम वल्र्ड इन्भेस्टमेन्ट रिपोर्ट २०२० का अनुसार सन् २००५ पछि पहिलोपटक प्रत्यक्ष विदेशी लगानी एक ट्रिलियन डलरभन्दा निम्नस्तरमा आउन लागेको हो। यसका साथै सन् २०२१ मा पनि प्रत्यक्ष वैदेशिक लगानी ५ वा १० प्रतिशतसम्म कम हुन सक्ने अनुमान लगाइएको छ र सन् २०२२ सम्म पनि यो पुनर्जीवित हुने छैन। 

संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास एजेन्सीले कोरोनाको नियन्त्रणका लागि जारी गरिएका लकडाउनका कारण बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो वर्तमान र भविष्यको लगानीको योजनालाई संशोधित गर्ने सम्भावना उच्च रहेको जनाएको छ। एसियाको प्रत्यक्ष वैदेशिक लगानीमा ४५ प्रतिशतसम्मको कमी आउने प्रक्षेपण गरिएको छ। 

विश्व बैंकको अनुमान अनुसार यो वर्ष विश्वको अर्थतन्त्रमा ५.२ प्रतिशतको कमी आउनेछ। – एजेन्सी