काठमाण्डौ । शाखा तथा व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण ह्वात्तै बढेको खर्चलाई नियन्त्रणमा राख्दै एनआइसी एशिया बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । 

बैंकले यो अवधिमा २७ करोड ८६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले २६ करोड १० लाख खूद नाफा कमाएको थियो । 

व्यवसाय बिस्तारमा विशेष ध्यान दिंदा बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ५६ करोड रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष ५९ करोड ६९ लाखको उचाईमा पुुगेको हो । 

निक्षेपसँग सम्बन्धित विभिन्न आकर्षक अफर ल्याएको बैंकले निक्षेप संकलनमा छलांग मारेको छ । गत वर्षको पहिलो त्रैमासमा ७२ अर्ब ४७ करोड निक्षेप संकलन गरेको यो बैंकले समीक्षा अवधिमा भने १ खर्ब ३ अर्ब ६५ करोड निक्षेप संकलन गर्ने सफलता पाएको छ । निक्षेपतर्फ बैंकले गरेको प्रगतिले निक्षेपकर्ता एनआइसी एशिया बैंकलाई पहिला भन्दा बढी विश्वास गर्न थालेछन् भन्ने देखिन्छ । एनआइसीमा आफ्नो पैसा सुरक्षित हुने निश्कर्षमा पुुग्ने निक्षेपकर्ताहरु बढेका कारण निक्षेपमा यति ठूलो फड्को मार्न बैंक सफल भएको देखिन्छ । 

बैंकले यो अवधिमा ८६ अर्ब ७४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६१ अर्ब १ करोड कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा बैंकले निक्षेपतर्फ ४३.०१ प्रतिशत र कर्जा परिचालनतर्फ ४२.१७ प्रतिशतको फड्को मारेको छ । यो निकै सुखद पक्ष हो । 

बैंकले यो अवधिमा निस्क्रिय कर्जालाई पनि घटाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ०.९ प्रतिशत रहेको निस्क्रिय कर्जा घटाएर समीक्षा अवधिसम्म ०.२९ प्रतिशतमा सीमित गरिएको छ । 

व्यवसाय तथा शाखा सञ्जाल बिस्तारका कारण खर्च बढ्दा नाफामा कमी आई प्रतिसेयर आम्दानीमा दवाब परेको छ, जुन स्वभाविक हो । गत वर्ष पहिलो त्रैमाससम्म यो बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी १७ रुपैयाँ ९४ पैसा रहेकोमा घटेर यो वर्ष १३ रुपैयाँ ८८ पैसामा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२९.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.७५ गुणा कायम भएको छ । यसअवधिमा ६ करोड ८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ भने प्रोभिजनमा १८ करोड १४ लाख रुपैयाँ राखेको छ ।

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस दिएर चुक्तापूँजी ८ अर्ब ३ करोड पुर्याइसकेको छ भने जगेडा कोषलाई पनि केही मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ अर्ब १८ करोड रुपैयाँ रहेको कोष बढेर समीक्षा अवधिसम्म २ अर्ब ३६ करोडको भएको छ ।