काठमाण्डौ । आफ्ना विभिन्न प्रडक्टहरुमा ‘चमात्कार’ शब्दलाई जोड्ने गरेको एनआइसी एशिया बैंकले निक्षेप संकलनमा चमात्कार नै गरेको छ । 
एनआइसी एशिया बैंक ३ खर्ब निक्षेप कटाउने देशकै पहिलो बैंक बनेको छ । 

नेपाल राष्ट्रबैंकका अनुसार एनआइसी एशियाले बैशाख मसान्तसम्ममा ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो । गत एक महिनामा बैंकले ८ अर्ब ७४ करोड रुपैयाँले बढाएर ३ खर्ब ४ अर्ब ३५ करोड पुर्याएको हो। एनआइसीपछि कुमारी बैंकले ६ अर्ब ४८ करोड र नेपाल बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेको छ।

गत १० महिनामा एनआइसी एशियाले ९३ अर्ब ५१ करोड रुपैयाँले निक्षेप बढाएको छ । 

बैशाखमा २७ मध्ये १२ बैंकको निक्षेप घटेको छ। कृषि विकास बैंक, सेञ्चुरी, सिटिजन्स, एभरेष्ट, ग्लोबल आइएमइ, माछापुच्छ्रे, मेगा, एनसीसी, एनएमबि, प्रभु, प्राइम र सिद्धार्थ बैंकको घटेको छ।  

हालसम्म बंगलादेश बैंकले ७९ अर्ब ५७ करोड, स्ट्याण्डर्ड चार्टर्डले ८५ अर्ब ५३ करोड, सेञ्चुरीले ८६ अर्ब १९ करोड, सिभिलले ८८ अर्ब २६ करोड निक्षेप संकलन गरेका छन् । यसरी हेर्दा यी चार बैंकले स्थापनादेखि हालसम्म संकलन गरेका निक्षेपभन्दा एनआइसी एशियाले १० महिनामा संकलन गरेको निक्षेप बढी छ ।

निक्षेपसँगै कर्जातर्फ पनि एनआइसी एशियाले चमात्कार गरेको छ । यो बैंकले कर्जाको आकार बढाई २ खर्ब ६६ अर्बको उचाई चुमाएको छ । बैशाख मसान्तसम्म अर्थात चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कुल ९३ अर्ब १७ करोड रुपैयाँले कर्जा बढाएको पाइएको छ । 

केन्द्रीय बैंकका अनुसार एनआइसी एशिया बैंकले १० महिनाको अवधिमा बढाएको कर्जा कतिपय बैंकले हालसम्म पनि पुर्याउन सकेका छैनन् । जस्तो, स्थापनादेखि अहिलेसम्म स्ट्याण्डर्ड चार्टर्डको कुल ऋण ६४ अर्ब ७२ करोड, नेपाल बंगलादेश बैंकको ६९ अर्ब १३ करोड, सेञ्चुरीको ऋण ७८ अर्ब ३५ करोड, सिभिलको ८३ अर्ब २२ करोड र एनसीसी बैंकको ९३ अर्ब ४८ करोड रुपैयाँ मात्र छ। यसरी हेर्दा स्ट्याण्डर्ड चार्टर्ड, बंगलादेश बैंक, सेञ्चुरी र सिभिलले स्थापनादेखि हालसम्म परिचालन गर्न नसकेको कर्जा एनआइसी एशियाले १० महिनामै परिचालन गरेर चमात्कार गरेको छ ।