काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभूति हुन नसकेको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले सो कुरा बताएका हुन् ।

मुलुक कम्तीमा २० वर्ष अन्यौलको वातावरणमा रहँदा व्यवसायीले कहिल्यै हौसला नगुमाएर मुलुकलाई गतिशिल बनाउन लागिपरेको स्मरण गर्दै पूर्व अध्यक्ष ढकालले अन्यौल र अस्थिरतामा पनि व्यवसायीहरु हतोत्साही नभएका प्रष्ट पारे ।

गुजारामुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरी निर्यातमुखि अर्थतन्त्रको विकास भएमात्र मुलुकमा आर्थिक समृद्धिको लक्ष्य हासिल हुने उनले बताए ।

‘लगानीमैत्री वातावरण सरकारले बनाइदिनुपर्यो, त्यसमा हातेमालो गर्न हामी सम्पूर्ण व्यवसायीहरु तयार छौ । ढकालले भने–‘सरकारले व्यवसायीलाई हतोत्साहित होइन, उर्जाशील बनाउन आवश्यक छ ।’

साक्षात्कार कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दुई तिहाई बहुमतको सरकारबाट व्यवसायीले आर्थिक समृद्धिको धेरै आशा गरेको बताउंदै समृद्धिको न्यानो ताप अझै पाइनसकेको बताए । ‘अझै पनि आशावादी छौं, हतोत्साही भएका छैनौं, तर राज्यले देखिने खालका अर्थपूर्ण आर्थिक समृद्धिको अभियान चालोस् भन्ने अपेक्षा छ।’ प्रधानले भने ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दाङमा एग्रो इन्डष्ट्रिजको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै, त्यसको वातावरण बनाइदिन स्थानीय सरकारलाई आग्रह गरे । ‘यहाँ कृषिजन्य उद्योगको भरपुर सम्भावना छ, यद्यपि खुर्सानीदेखि बेसारसम्म पनि उल्लेख्य रुपमा आयात भइरहेको देखिन्छ, यसलाई कृषिजन्य उद्योगले समन्वय गर्न सक्छ।’—उपाध्यक्ष ढकालले भने ।