काठमाण्डौ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अहिले विषम परिस्थितिमा निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारले दिएको निर्देशनलाई ‘हावादारी’ को संज्ञा दिएको छ। 

अफिनले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० शय्या सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अफिनले यो हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषयमा बनेको निष्कर्ष पनि निकालेको छ। ‘हाल लगभग देशभरि नै निषेधाज्ञा जारी गरिएको छ, अन्तर्राष्ट्रिय हवाई सेवा पनि बन्द। द्रुत ढुवानीका अन्य विकल्प छैनन्’, विज्ञप्तिमा भनिएको छ, ‘अस्क्जिन प्लान्ट भनेको बजारमा टप्प टिपेर जडान गर्ने उपकरण हैन। विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभई प्लान्ट तयार गरिदिने अवस्था रहँदैन। प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ।’

सीमित साधन–स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचार सेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैरजिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी सञ्चालन भइरहेछ भन्ने स्पष्ट हुने अफिनले जनाएको छ। अफिनले वर्तमान परिस्थितिमा सबै अस्पताल अक्सिजन प्लान्ट जडान गर्न सक्षम नरहेको पनि स्पष्ट पारेको छ। ‘१०० शय्याको अस्पतालका ािग नेपाल सरकारको मापदण्डबमोजिम प्लान्टको मूल्यमा कम्तीमा पनि २ करोड पर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ। त्यसैले यो परिस्थिति सबै अस्पताल प्लान्ट निर्माण गर्न समक्ष छैनन्।’

देशैभरि अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारका तर्फबाट विशेष कदमहरु चालिनुपर्नेमा अफिनले जोड दिएको छ। ‘उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार छन्’, विज्ञप्तिमा भनिएको छ। 

कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामर्थ्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ। ‘आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हामी हरदम तयार छौँ’, अफिनले भनेको छ।