काठमाण्डौ । केही समयअघि ठूलो परिमाणमा आईपीओ निष्कासन गरेको नेपाल पुनर्बीमा कम्पनीका सेयरधनी केही हजारको लगानीबाटै लखपति भएका छन्। त्यसैको प्रभावस्वरुप अहिले निष्कासन भइरहेको हालसम्मकै सर्वाधिक ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को आईपीओमा पनि भरमार आवेदन परिरहेको छ। 

यो बैंकले कुल ८ करोड कित्ता सेयर निष्कासन गरेको छ। यो आईपीओमा आवेदनका लागि आवश्यक डिम्याट खाता खोल्नकै लागि डीपी (मर्चेन्ट बैंक र ब्रोकर हाउस) मा केही दिनयता सर्वसाधारणको बाक्लो भीड देखिने गरेको छ। 

यो आईपीओमा सबै आवेदकलाई न्यूनतम ५० कित्ता सेयर हाता लाग्ने र महँगोमा उक्त सेयर बिक्री गर्ने आशामा धमाधम डिम्याट खाता खोल्ने क्रम बढेको देखिन्छ।

प्राथमिक बजार गुल्जार बनाउन ठूलो परिमाणमा निष्कासन हुने नेपाल इन्फ्रास्टक्चर बैंकजस्ता कम्पनीका आईपीओहरुको महत्वपूर्ण योगदान रहेको हुन्छ। केही हजारको लगानी केही दिनभित्रै लाखौँ हुने लालचमा अहिले बैंक र ब्रोकर कम्पनीका डीपीमा डिम्याट खाता र मेरो सेयर खोल्ने र सीआरएन नम्बर लिनेको अचाक्ली भीड देखिन्छ।
बुलिस बजारमा प्राथमिक बजारमा समेत निकै चहलपहल बढ्छ। यो निरन्तरको घटनाक्रम भएको जानकारहरु बताउँन्।
सेयर बजार बढेपछि राष्ट्रियस्तरका श्रव्यदृश्य मिडियाबाट समेत समाचार प्रकाशन भएपछि आममानिसमा सेयरको सचेतना वृद्धि भई लगानी गर्न उत्सुक देखिन्छन्।

प्राथमिक बजारमा लगानी गर्दा थोरै समय दिँदा पनि हुने र सानो रकमले पनि मनग्यै आम्दानी हुने भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति बाक्लिँदै जान्छ र सेयर बजारको गन्थनमन्थन पनि जताततै निकै परसम्म चर्चा परिचर्चा सुन्ने गरिन्छ।

यो बैंकले गत पुस २ गतेदबाट कुल ८ करोड कित्ता आईपीओ निष्कासन गरेको छ। कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ। 

सीडीएससीका अनुसार आज तेस्रो दिन आइतबार दिउँसो साढे ४ बजेसम्म निफ्राको आईपीओमा ८ लाख २ हजार ७०८ आवेदकबाट कुल ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन परेको छ। यो हिसाबले हालसम्म यो आईपीओमा २ करोड ३५ लाख ६६ हजार ७४० बढी कित्ताका लागि आवेदन परिसकेको छ। 

यो आईपीओमा छिटोमा माघ ६ गते बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ।