काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले निष्कासन गरेको हालसम्मकै ठूलो आईपीओमा आवेदन दिन आज मंगलबार (माघ ६ गते) अन्तिम दिन रहेको छ।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ।

प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ।

क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म यो आईपीओमा ११ लाख ८० हजार ११० आवेदकबाट १४ करोड १९ लाख ५२ हजार १४० कित्ता खरिद आवेदन परेको छ। यो हिसाबले निफ्राको आईपीओमा सोमबारसम्म मागभन्दा १.८७ गुणा बढी आवेदन परेको छ। 

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर पोर्टल तथा एपमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था मध्यम, समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।