काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका एक अधिकारीका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर को आईपीओमा प्राप्त आवेदनको डाटालाई आज मंगलबार साँझसम्म फाइनल गर्ने र भोलि बुधबार प्रिअलटमेन्ट गर्ने तयारी भइरहेको छ। यदि भोलि प्रिअलटमेन्ट सकिएको खण्डमा आउँदो शुक्रबार नै आईपीओ बाँडफाँड गर्ने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए। 

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन्। यो हिसाबले आईपीओमा मागभन्दा २.३९ गुणा बढी आवेदन परेको छ।