काठमाण्डौ । सार्वजनिक निजी साझेदारीका माध्यमबाट प्रदेश नं. १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरुको सम्बोधन गर्न प्रदेश नं. १ को सार्वजनिक निजीसाझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

समझदारीपत्रको मूल उद्देश्य प्राविधिक र आर्थिक रुपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरु पहिचान गर्नु र सम्भावित परियोजनाहरुमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण (ःबचपभत क्यगलमष्लन) र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीका माध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नुरहेको छ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा समझदारीपत्रमा प्रदेश नं. १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणका तर्फबाट निर्देशक डा. सरोज कोइराला र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा निर्देशक कोइरालाले प्रदेश नं. १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराए। मुलुकको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं. १ सँग समझदारीपत्रमा हस्ताक्षर गरेसँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकारहरु एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ।