– रेखा चन्द
काठमाडौ । नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गर्दै मनपरी रुपमा ऋणीबाट उठाएको रकम अन्ततः वाणिज्य बैंकहरुले फिर्ता गरेका छन्।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले सम्झौताविपरीत प्रिमियम बढाएर आफ्ना ऋणीहरुबाट कुल ४ अर्ब ६६ करोड रुपैयाँ बढी असुलेका थिए। सोही रकम वाणिज्य बैंकहरुले सम्बन्धित ऋणीलाई फिर्ता गरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरुले कर्जा दिने बेलामा गरेको सम्झौताअनुरुप कर्जाको अवधिभर प्रिमियम अर्थात आधार दरमा थप गर्ने ब्याजदर बढाउन पाउँदैनन्। तर, बैंकहरुले गत वर्ष उक्त व्यवस्था उल्लंघन गर्दै कर्जाको परिपक्वको समय नसकिँदै प्रिमियम बढाएर ऋणीबाट बढी ब्याज असुलेको राष्ट्र बैंकको अनुसन्धानले देखाएको थियो।
केन्द्रीय बैंकले लाभांश घोषणाका लागि गत वर्षको वित्तीय विवरण स्वीकृत दिने बेलामा वाणिज्य बैंकले उक्त रकम असुलेको पाएको हो। त्यसपश्चात राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासभित्रै २५ वाणिज्य बैंकलाई उक्त रकम फिर्ता गर्न निर्देशन दिएको थियो।
उक्त निर्देशनपछि बैंकहरुले बढी असुलेको रकम फिर्ता गरेको राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिए। ‘बैंकहरुले कुल ४ अर्ब ६६ करोड रुपैयाँ नियमविपरीत असुलेको पाइएको थियो’, पोखरेलले भने ‘राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले त्यस्तो रकम सम्बन्धितलाई फिर्ता गरिसकेको अवस्था छ।’
उक्त रकम फिर्तापछि मात्रै राष्ट्र बैंकले बैंकहरुलाई एजीएम क्लियरेन्स दिएको सहप्रवक्ता पोखरेलको भनाइ छ।
यी हुन् ऋणीबाट सबैभन्दा बढी रकम असुल्ने ५ बैंक
गत आर्थिक वर्षमा राष्ट्र बैंकको नियमविपरीत ऋणीहरुबाट सबैभन्दा धेरै एनआईसी एसिया बैकले रकम असुलेको थियो। यो बैंकले कुल ४८ करोड रुपैयाँ नियमविपरीत उठाएको सहप्रवक्ता पोखरेलले जानकारी दिए।
त्यसैगरी नबिल बैंकले ४७ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकले ४५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ र साबिक बैंक अफ काठमाण्डूले २६ करोड १० लाख रुपैयाँ नियमविपरीत उठाएको पाइएको पोखरेलले जानकारी दिए।
अन्य बैंकले उठाए रु. ६ करोडदेखि रु. २६ करोडसम्म
त्यसैगरी नियमविपरीप असुलीको प्राइम कमर्सिय बैंकले २६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २५ करोड ५० रुपैयाँ, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड १० लाख रुपैयाँ, एनएमबि बैंकले १६ करोड ३० लाख रुपैयाँ र एभरेष्ट बैंकले १५ करोड ४० लाख रुपैयाँ ब्याज रकम फिर्ता गरेका छन्।
यसैगरी प्रभु बैंक र नेपाल बैंकले १५–१५ करोड रुपैयाँ, लक्ष्मी बैंकले १३ करोड ३० लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले १३ करोड रुपैयाँ, हिमालयन बैंक र सिटिजन्स बैंकले १२–१२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख रुपैयाँ, सिभिल बैंकले ११ करोड २० लाख रुपैयाँ, सानिमा बैंकले ११ करोड रुपैयाँ, साविक मेगा बैंकले १० करोड ६० लाख रुपैयाँ र साबिक एनसीसी बैंकले ८ करोड ८० लाख रुपैयाँ ऋणीलाई फिर्ता गरेको राष्ट्र बैंकले जनाएको छ। साबिक सेञ्चुरी बैंकले ६ करोड ५० लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले पनि ६ करोड रुपैयाँ ऋणीलाई फिर्ता गरेको पोखरेलले बताए।
सबैभन्दा कम ब्याज फिर्ता गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले झन्डै ४० लाख रुपैयाँ नियमविपरीत उठाएको रकम फिर्ता गरेको राष्ट्र बैंकले जनाएको छ। जुन सबैभन्दा कम हो।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago