काठमाण्डौ । पछिल्लोे समय अल्पकालीन ऋणको ब्याजदरहरु निरन्तर घट्न थालेका छन्। 

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सुधार आउन थालेसँगै अन्तरबैंक ब्याजदरहित ट्रेजरी बिलका ब्याजदरहरु पनि घट्न थालेका हुन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर घटेर ४ प्रतिशतको लाइनमा आएको छ। बैंकहरुले बैंकहरुसँगै सापटीमा लिने रकममा तिर्ने ब्याज नै अन्तरबैंक ब्याजदर हो। 

माघ १० गते बैंकहरुले ४.७३ प्रतिशत ब्याज तिरेर अन्तरबैंक सापटी चलाइरहेका छन्। अघिल्लो दिन यस्तो ब्याजदर ५.०६ प्रतिशत थियो। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत स्थायी तरलता सुविधाको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्याएपछि बैंकहरुले पनि अन्तरबैंक सापटीको ब्याजदर साढे ८ प्रतिशत पुर्याएका थिए। तरलता अभावकै कारण बैंकहरुले सोही ब्याजमै यस्तो सापटी चलाइरहेका थिए।

हाल बैंकहरुले बैंकहरुबाटै सस्तोमा रकम चलाउन पाएपछि राष्ट्र बैंकले दिने तरलता सुविधा प्रयोगमा कमी आएको छ।

त्यसैगरी लामो समय दोहोरो अंकमा रोकिएको ट्रेजरी बिलको ब्याज पनि एकल अंकमा झरेको केन्द्रीय बैंकले जनाएको छ। गत मंगलबार जारी भएको ट्रेजरीमा औसतमा ९.८१ प्रतिशत ब्याजदर कायम भएको छ। केही समयअघि यस्तो ब्याजदर औसतमै १२ प्रतिशतमाथि पुगेको थियो।

यता माघदेखि बैंक तथा वित्तीय संस्थाहरुले पनि ब्याज घटाएका छन्। तरलता अभाव हुँदा अल्पकालीन ऋणको ब्याजदर तथा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर पनि बढ्ने गर्दछ तर तरलता सहज हुँदा यस्ता ब्याजदरहरु घट्ने गर्दछन्।

बैंकिङ प्रणालीमा तरलता सहज भएसँगै चालु आर्थिक वर्षमा पहिलोपटक राष्ट्र बैंकले ५ अर्ब रुपैयाँबराबरको ७ दिने रिभर्स रिपो जारी गरेको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव भएमा स्थायी तरलता सुविधालगायत वित्तीय औजारबाट तरलता बजारमा उपलब्ध गराउँछ भने तरलता बढी हुँदा त्यसको व्यवस्थापनका लागि रिभर्स रिपो गरी अधिक तरलतालाई तान्छ। राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको अवस्थामा तरलतामा तीव्र सुधार हँुदै गएको संकेत गर्छ।

प्रणालीमा तरलता सहज भएको राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन्। ‘हाललाई प्रणालीमा तरलताको अभाव देखिँदैन’, ती अधिकारीले भने, ‘राष्ट्र बैंकले बजारमा बढीको तरलतालाई खिचेको छ, यसरी तरलता सहज हुँदा विभिन्न ब्याजदर तल आउँछन्।’