काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा १८ करोड २ लाख रुपैयाँले बढाउन सफल भएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ५५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ३२.२३ प्रतिशतले छलाङ मार्न सफल भएको हो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ ।

संस्थाको सञ्चालन मुनाफा १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १३ करोड ९ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ८ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाले ७ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई १९ अबै ६३ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ६ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ४५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा २९.६६ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष १ अर्ब २५ करोड रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी ६१.६२ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १३.६५ गुणा, प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९०२ रुपैयाँ रहेको छ ।