काठमाण्डौ । निर्धन उत्थान लघुवित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा ४३.४८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले १५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा प्रथम त्रैमासमा ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा २३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले खुद ब्याज आम्दानी ४५ करोड ८८ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ३८ करोड १२ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ११ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष सोही अवधिमा संस्थाले ८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार ३१.५८ प्रतिशतले बढाएको छ । गत वर्ष १ अर्ब ७४ करोड रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७२.१२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २९२ रुपैयाँ पुगेको छ ।