काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५१.०५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १२.३५ प्रतिशतले घटेको छ। गत वर्ष ७४ करोड ९५ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा घटेर ६५ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको छ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३५.९८ प्रतिशतले बढेर १ अर्ब ५९ करोड रुपैयाँ बढी भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। 

संस्थाले रिजर्भको आकार ६२.२५ प्रतिशतले बढाएको छ। गत वर्ष १ अर्ब ६१ करोड रुपैयाँ रहेको रिभर्जमा यो वर्ष बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५६.२३ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३३.२४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५४.७८ रुपैयाँ रहेको छ।