काठमाण्डौ । सेयर बजारमा कारोबार रकम १० अर्ब नजिक पुगिरहँदा दैनिकजसो नयाँ नयाँ कीर्तिमानहरु बनिरहेका छन् । 

पछिल्लो समय दशैँतिहारजस्ता ठूला चाडपर्वहरु पनि बजारको आकार बढ्न बाधक बनेनन् । पछिल्लो समय सेयर बजारमा रेकर्डै रेकर्ड ब्रेक गर्दै २६ खर्ब रुपैयाँ माथि पूँजी बजारको आकार फैलिइसकेको छ । 

नेप्से परिसूचकले १०९८ को न्यूनतम विन्दूलाई तोडेर बजार केही समययता बुलिस ट्रेण्डमा कुदिरहेको छ । लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिता र कारोबर रकमले समेत बजार दिनानुदिन गुल्जार बन्दै गइरहेको अवस्थामा विगत ४ दशकभन्दा बढी समयदेखि सेयर बादशाहका रुपमा चिनिएका निर्मल प्रधानले चाहिँ सेयर बजारको पछिल्लो परिदृष्य तथा उत्तारचढावलाई कसरी नियालिरहेका होलान् ? उनको विचारमा आगामी दिन बजारको दिशा कता जाला ? यसै विषयमा आधारित भई बिजशालाका वरिष्ठ संवाददाता भक्तराज रसाइलीले संक्षिप्त कुराकानी गरेका छन् :

बजार भर्खरै ऐतिहासिक विन्दूलाई तोडेर अघि बढेको छ । पछिल्लो बजारको परिदृश्यको विषयमा तपाईँको विश्लेषण कस्तो छ ?

मैले तपाईँकै मिडियामार्फत अघिल्लो वर्ष घरजग्गा धितो राखेर भए पनि सेयरमा लगानी गर्न सुझाएको थिएँ–बजार बुलिस ट्रेण्डमा जान लाग्यो भनेर । नभन्दै बजारले छोटो समयमा नै छलाङ पनि मारिरहेको छ । अब त झन बल्ल अलटाइम हाई ब्रेक गरी नयाँ उचाईतर्फ मोडिदैछ। अझै पनि केही बितेको छैन । म सम्पूर्ण लगानीकर्ताहरुलाई सेयर अझै किन्न सल्लाह दिन्छु । 

अन्य क्षेत्रमा लगानी सुरक्षित नभइरहेको वर्तमान अवस्था, कोरोना र नेप्सेको अनलाइनले बजारको वृद्धि दिनानुदिन बढाउँदै गएको देखिन्छ । बजारमा अहिले खरिद चाप छ । अझै २–४ दिन बजार करेक्सन हुने छाँटकाँट देखिन्न । त्यसपछि भने बजार करेक्सनमा जाला । 

भर्खर बुल सुरु भएको छ जुन बिहीबार नै अलटाइम हाईलाई ब्रेक गरेबाट पुष्टि हुन्छ । अब बुलको पिरियड न्यूनतम डेढ वर्ष रहनेछ । नेप्से अब यसअघिको अलटाइम हाईको न्यूनतम डबल (३७६२ विन्दू) पुग्छ । अबको २ वर्षभित्रै नेप्से ५४ सय विन्दू चुम्छ ।

बुलिस बजारमा चाहिँ सेयर किनबेच गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्ला ?
बजार सेन्टिमेन्टले चल्दैन र म लगानीकर्ताहरुलाई बैंकको सेयर सकेसमम किन्न सुझाउँछु । बैंकबाट कमाइ हुन्छ र लगानीकर्ताहरु डुब्ने सम्भावना पनि रहँदैन । म लगानीकर्ताहरुलाई एनआइसी एसिया, प्राइम बैंक, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर किन्नुस् भन्ने सल्लाह दिन्छु, कन्फर्म राम्रो कमाउनुहु्न्छ ।

यसअघिको बुलमा माइक्रो, इन्स्योरेन्स हुँदै बैंकले लिड गरेको थियो, तपाईँको विचारमा यो पटकको बुलमा कुन सेक्टरले लिड गर्छ होला ?
जुनसुकै सेक्टरमा उत्तारचढाव होला तर म लगानीकर्ताहरुलाई फेरि पनि बैंक नै किन्न सल्लाह दिन्छु । 

बुलिस बजारमा कुस्त कमाउन लगानीकर्ताहरुलाई कुनै टिप्स छ भने बताइदिनुस ।
टिप्सभन्दा पनि म चाहिँ तोकेर नै कम्पनीको नाम भन्न रुचाउँछु । एनआइसी एसिया, सिद्धार्थ, प्राइम, एनसीसी बैंकलगायत कम्पनीको सेयर किने ढुक्कले कमाउन सक्नुहुन्छ । म यही थोरै कम्पनी बारे मात्र भन्न सक्छु । नेप्सेमा धेरै कम्पनी छन्, अरुमा मेरो ध्यान पनि छैन ।

बुलिस बजारमा आगामी दिनका लागि के कस्ता अवसर तथा चूनौतीहरु देख्नुहुन्छ?
म त अवसरै अवसर देख्छु । खै कसले भन्यो चूनौती छ भनेर ? डेढ वर्षसम्म बुलिस ट्रेण्ड भएकाले काम नलाग्ने सेयर नकिन्न आग्रह गर्दछु  । किन्ने भनेकै बैंकका सेयरहरु किन्नुस, मनग्यै कमाइ हुनेछ  ।