काठमाण्डौ । भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्यमा उछाल आएको छ। 

अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने गहुँको मूल्य अमेरिकाको सिकागोमा ५.९ प्रतिशतले वृद्धि भएको छ। जुन गत दुई महिनाकै सबैभन्दा धेरै हो। 

भारतमा गर्मीको लहरका कारण गहुँबालीको उत्पादन प्रभावित भएको छ। जसका कारण गहुँको मूल्य वृद्धि भएको छ।  गहुँको बढ्दो मूल्यलाई रोक्न र स्वदेशी माग धान्न भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ। 

यस वर्ष विश्व बजारमा गहुँको मूल्य ६० प्रतिशतले वृद्धि भइसकेको छ। जसका कारण ब्रेडदेखि लिएर नुडल्सको मूल्यमा बढोत्तरी भएको छ। 

भारत सरकारले पहिले नै सम्झौता भएका देशहरु र खाद्य सुरक्षाका लागि आपुर्तीको माग गर्ने देशहरुलाई भने गहुँको आपूर्ति जारी राख्ने जनाएको छ।

भारतीय सरकारी अधिकारीहरुले पनि यो प्रतिबन्ध अस्थायी भएको र अवस्था समान्य भएपछि यसलाई हटाइने बताएका छन्। 

यद्यपि भारतको यो निर्णयलाई जी–७ राष्ट्रका कृषिमन्त्रीहरुले आलोचना गरेका छन्। आलोचना गर्नेमा यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिकाजस्ता देशहरु छन्। 

भारत गहुँ उत्पादन गर्ने विश्वकै दोस्रो ठूलो देश हो। यसअघि भारतको गहुँ घरेलु बजारमै बिक्री हुने गर्दथ्यो। तर, रुस–युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय बजारमा गहुँको आपूर्तिमा समस्या आएपछि विश्वका व्यापारीहरुले भारतबाट गहुँको आपूर्ति हुने विश्वास गरेका थिए। प्रतिबन्ध लगाउनुअघि भारतले १ करोड टन गहुँ निर्यात गर्ने लक्ष्य राखेको थियो। – एजेन्सी