काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रवर्द्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग आज छलफल गरेको छ। 

औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसँग छलफल गरेको हो। उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ वुँदे ध्यानकर्षणपत्रसमेत बुझाएको छ। 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे। उद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सीप प्रवर्द्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए। उनले भने, ‘विदेशमा सिकेको सीप र लगानी हाम्रा उद्योगहरुमा प्रवर्द्धन गर्न सकियो भने कहाली लाग्दो व्यापार घाटा कम गर्न सकिन्छ। यसका लागि सरकारसंग हातेमालो गर्न चेम्बर सदैब तयार छ,।’

औद्योगिक व्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल व्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे। दश करोड रुपैयाँबराबरको विद्युत खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै उनले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवर्द्धन गर्न सकिने बताए।

मुख्य मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुहरुको निर्यातमा पटक–पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाइ थियो। 

यस्तै उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन ईआईएको व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीसँग आग्रह गरे। 

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रवर्द्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए। विदेशबाट फर्किएका युवाहरुको सिप र लगानी प्रवर्द्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको ज्ञवालीले बताए । यसका लागि वैदेशिक रोजगारसम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाइ छ। 

वार्षिक ९ खर्ब रुपैयाँबराबरको निर्यात क्षमता भए पनि यसबाट लाभ लिन नसकिएको ज्ञवालीले बताए। चेम्बरका पदाधिकारीसँग सचिव ज्ञवालीले उद्योगहरुमा वातावरणीय प्रभाव मूल्यांकन ईआईएको सहजीकरणमा आफूले पहल गर्ने बताए।