काठमाण्डौ । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ। 

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

प्रबन्ध निर्देशक चौधरीले निशाको गत जेठ २७ गते उद्धार गरेकी थिइन्। हाल नर्भिकले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ। 

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएका कारण कलाकार निशाको मुहारमा चमक देखिएको थियो। अस्थिपञ्जरमात्रै बाँकी रहेका ेजस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको छ। 

हाल नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट निशाको उपचार गरिरहेको छ। 

डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ। 

अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी निशा चलमलाउन थालेकी छन्। बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रियासमेत दिन थालेकी छन्। 

निशाले पछिल्लो समय बोल्नेसमेत कोसिस गरिरहेकी छन्। उपचारका संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार भोक लाग्दा संकेत दिनेसम्मको भएकी छन्। ‘उहाँ भोक लाग्यो भने कराएजस्तो गर्नुहुन्छ’, उपचार संलग्न चिकित्सहरु भन्छन्, ‘क्रमशः अवस्थामा सुधार भइरहेको छ।’ 

निशाले सोझै खाना खान भने सकेकी छैनन्। पाइपमार्फत खाना दिइने गरिएको छ। 

डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन्। उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेकोसमेत बताए। 

जलानका अनुसार दुर्घटनाका कारण निशाको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून छ। ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’, डा. जलानले भने, ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन्। हामीले डाइट र थेरापीमा फोकस गरेका छौँ। प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौँ। हिजोबाट ह्विलचेयरमा समेत बसाउन सुरु गरेका छौँ।’ 

निशाको अवस्थालाई उनले ‘जनरल कन्डिसन इम्प्रुभ’ भएको अवस्थाका रुपमा बुझ्न सकिने बताए। 

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशाको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो। चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन्। 

तीन वर्षअघि अभिनयको कोर्स पढ्न निशा भारत गएकी थिइन्। त्यहाँ भएको सडक दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। 
दुर्घटनालगत्तै निशाको भारतकै अस्पतालमा उपचार गरिएको थियो। तर, त्यहाँको अस्पतालको उपचार महँगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए। 

काठमाण्डौमा ल्याएर ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो। तर, उनको अवस्थामा सुधार हुन सकेन। त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरुमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो। नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमणसमेत बढेपछि उनी घरमै थन्किएकी थिइन्। 

यो अवधिमा निशाको अवस्थाका बारेमा समाचारहरुसमेत प्रकाशन भएका थिए। तर, उनलाई उद्धार गर्न र उचित उपचार व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन्। नर्भिकले उनको उद्धार गरेपछि उनलाई आर्थिक सहयोग गर्नेहरुको समेत लहर नै चलेको छ। उनको नाममा अक्षयकोष स्थापना गरी सहयोग रकम धमाधम जम्मा भइरहेको उनको उद्धारका लागि समन्वय गरेका समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिए।