काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मुलुकमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै लैजान सरकारसँग आग्रह गरेको छ। 

नाडाले एक विज्ञप्ति जारी गर्दै घट्दो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै निषेधाज्ञा खुकुलो बनाउन सरकारसँग अपिल गरेको हो। ‘निषेधाज्ञा अवधि थपिएमा अब जनता स्वयं नै आफ्नाने दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना प्रबल हुँदै गएको छ’, नाडाले भनेको छ, ‘यस्तो सम्भावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने निश्चित नै छ।’

नाडाले खोपको समुचति व्यवस्था गरी उद्योगव्यवसाय सञ्चालनको वातावरण बनाउन पनि सरकारसँग आग्रह गरेको छ। ‘सरकारले यथाशक्य छिटो जनताका लागि खोपको समुचित व्यवस्था गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसका साथसाथै संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइका साथ पालना गराउँदै उद्योगव्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्छ।’