काठमाण्डौ । बिहीबारदेखि निषेधाज्ञा लागू हुने देशभरका कम्तीमा १२ जिल्लाहरुमा बैंकहरुले दैनिक ४ घण्टा मात्र सेवा दिने भएका छन् । 

केन्द्रीय बैंकसँग बैंकरहरुले छलफलपछि गरेको सहमतिअनुसार दैनिक ४ घण्टाको दरले मात्र बैंकका शाखा संचालन गर्ने सहमति बनेको हो । 

भोलि(बिहीबारदेखि) काठमाण्डौ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र बैंकका शाखाहरु खुल्नेछन् । 

निषेधाज्ञाको अवधिमा बैंकहरुले सबै एटीएम खुल्ला राख्नुपर्नेछ भने शाखाहरु पनि सबै खोल्नुपर्नेछ । 

केन्द्रीय बैंकले विभिन्न प्रडक्ट र स्कीम ल्याएर ग्राहकहरुलाई भरसक डिजीटल माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्न बैंकहरुलाई आग्रह गरेको छ । 

राष्ट्रबैंकसँग भएको यो सहमतिअनुसार बैंक तथा वित्तीय संस्थाहरुले बुधबार साँझ नै बैंकिङ सेवा संचालन हुने समयको विषयमा सूचना जारी गर्दै ग्राहकहरुलाई डिजीटल माध्यमबाट जानकारी गराइसकेका छन् । 

बैंकहरुले कारोबार सुचारु गर्दा स्वास्थ्य मापदण्डलाई भने कडाईका साथ पालना गर्नुपर्नेछ । 

एटीएमको ढोका खुल्लै राख्नुपर्नेछ भने त्यहाँ स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्नेछ । 

यसैबीच, नेपाल बैंकर्स एशोसिएसनले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै सम्भव भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न अपील गरेको छ । 

यस्तै, अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन ग्राहकहरुलाई आग्रह गरेको छ । 

निषेधाज्ञामा पनि बैंकका शाखा तथा एटीएम बुथहरु खुल्ला नै रहने तथा इन्टरनेट÷मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गर्न समेत अपील गरेको छ ।