काठमाण्डौ । कोरोनाकालमा पनि नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सुधारोन्मुख वित्तीय प्रदर्शन गरेको छ।

आज सार्वजनिक तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले निष्क्रिय कर्जा कर दर ३० प्रतिशत बढीले घटाउन सफल भएको छ। गत वर्षको यही अवधिसम्म २.७६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिसम्म घटेर १.९१ प्रतिशतमा झरेको छ। 

बैंकको आधार दर पनि समीक्षा अवधिमा ७.५६ प्रतिशतमा झरेको छ। गत वर्ष यही अवधिमा बैंकका आधार दर ९.८९ प्रतिशत रहेको थियो। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५३.८१ प्रतिशतले बढेर २४.९७ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म बैंकको ईपीएस १६.१६ रुपैयाँमा सीमित थियो। पीई रेसियो १५.७० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने १६५.४६ रुपैयाँ रहेको छ। 

चालु आर्थिक वर्षको ९ महिनासम्म बैंकको खुद नाफा ६३.०२ प्रतिशतले बढेर १ अर्ब ६३ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको नाफा १ अर्ब ५० लाख रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य मुनाफा भने ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ। 

बैंकको सञ्चालन मुनाफा २ अर्ब २८ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ५६.४१ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा १ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी भने ७.३५ प्रतिशतले घटेर १ अर्ब ९८ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। 

यो ९ महिनामा बैंकले ७३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको रिजर्भको आकार २७.२६ प्रतिशतले बढेर ४ अर्ब ७८ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।