काठमाण्डौ । काठमाण्डौको चावहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ॐ हस्पिटल, गरिमा विकास बैंक र यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा बेलकोट फाँटिपौवा स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सञ्चालित शिविरमा बेलकोटगढी नगरपालिकाले समेत सहकार्य गरेको थियो।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा उद्घाटित शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधि उपलब्ध गराइएको थियो।
बेलकोटगढीवरपरका ग्रामीण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवालगायतका विषयमा २५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सकसहित शिविर सञ्चालन गरेको हो।
ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्षसमेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. आनन्दप्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परीक्षण शिविरमा वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाण्डौस्थित ॐ हस्पिटलमा विशेष छुटसमेत प्रदान गरिने व्यवस्था गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा कांग्रेसठ नेता केसीले नुवाकोटलाई प्राथमिकतामा राखेर विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेकोमा ॐ हस्पिटल परिवारलाई धन्यवाद दिए।
ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले अस्पतालको स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
एकदिवसीय शिविरमा चर्म तथा यौनरोग, हाडजोर्नीमा, दन्त चिकित्सा सेवा, सामान्य चिकित्सा, छाती तथा फोक्सो, मुटुरोग, स्त्री तथा प्रसूती, महिलासम्बन्धी क्यान्सर परीक्षणलगायतका विधामा ८०० भन्दा बढी विरामीले विशेषज्ञहरुसँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए।
ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर दक्ष तथा अनुभवि चिकित्सक, स्तरीय नर्सिङ सेवासहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमा विश्वस्तरीय उपचार सेवा एकै छानामुनि उपलब्ध रहेको नेपालको निजी क्षेत्रको अग्रणी अस्पताल हो। जसले तीन दशक अघिदेखि निरन्तर र अविछिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।
13 minutes ago
29 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago