काठमाण्डौ । सत्तारुढ दल नेकपाभित्र हस्ताक्षर अभियान चलाएर एकअर्काको शक्ति प्रदर्शन गर्ने होडबाजी चलेको छ । 

अहिले बालुवाटारमा सुरु हुन लागेको सचिवालय बैठकअघि नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत सिद्ध गर्न सांसदहरुको हस्ताक्षर संकलनलाई तीव्र पारेसँगै प्रचण्ड माधव नेपाल समूहले पनि त्यसलाई काउण्टर दिंदै आफू निकटका सांसदहरुको हस्ताक्षर संकलन अभियान थालेको हो । 

प्रचण्ड समूहका एक नेताका अनुसार ओलीले हस्ताक्षर अभियानको ध्वाँस देखाएर पार्टीमा दवाब सिर्जना गर्न खोजेपछि त्यसलाई काउण्टर दिन र कसको पक्षमा कति बहुमत रहेछ भन्ने विषय देखाइदिन आफूहरुले पनि सांसदहरुको हस्ताक्षर थालेको बताएका छन् । 

यही प्रयोजनका लागि प्रचण्ड र नेपाल पक्षले काठमाण्डौ बाहिर रहेका सबै सांसदहरुलाई भोलिसम्म काठमाण्डौ आइसक्न निर्देशन दिएको छ । 

काठमाण्डौ बाहिर रहेका सांसदहरु समेत आफ्ना गृहजिल्लाबाट धमाधम काठमाण्डौ आउन थालेका छन् । 

ओली पक्षले यसअघि नै जे पनि हुनसक्ने भन्दै आफू निकटका सांसदहरुलाई काठमाण्डौ बोलाएको छ । 

प्रचण्ड र नेपाल पक्षले समेत आफ्ना सांसदहरुलाई काठमाण्डौ बोलाएपछि पार्टीभित्र राम्रै भिडन्त हुने देखिएको छ । 

दुवैले एकअर्काको शक्ति देखाउँदै आफ्ना मागबाट टसको मस नहुने अडान लिएसँगै सत्तारुढ दलभित्रको विवाद थप पेचिलो मोडमा पुगेको हो । 

प्रचण्ड र नेपाल समूहलाई झलनाथ खनाल, बामदेव गौतम लगायतको समेत साथ रहेको छ । यसो हुँदा संसदीय दलमा समेत यो समूह फराकिलो बहुमतको अवस्थामा छ । यही कुरा बुझेका केपी ओली भने नेपाल र प्रचण्ड खेमाका सांसदहरुलाई चोर्दै आफ्नो पक्षमा बहुमत जुटाउने प्रयासमा छन् । 
नेकपाभित्रको चरम उत्कर्षमा पुगेको भनिएको विवादले कुन बाटो समात्ने हो, आजको सचिवालय बैठकले केही न केही संकेत गर्ने नेताहरु बताउँछन् । 

सचिवालय बैठकका लागि ८ जनै नेताहरु बालुवाटार पुगिसकेका छन्।