काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गम्भीर संकटको मोडमा आइपुगेको सो पार्टीका एक उच्च तहका नेताले सार्वजनिक रुपमा स्वीकार गरेका छन् । 

पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले केहीबेरअघि एक स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्दै पार्टी फूटको संघारमा रहेको अनेकन शंका आशंकालाई मजबुत पार्दै पार्टी एकता गम्भीर संकटका माडमा आइपुगेको बताएका हुन् । 

पछिल्लो समय कर्णाली प्रदेश सरकारमा देखिएको विवाद र त्यसमा पार्टीका दुई अध्यक्षले जारी गरेका परस्पर विरोधी विज्ञप्ति, पार्टी सचिवालय र स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कतिपय मनोमानी नियुक्तिहरु तथा पार्टी पंक्तिलाई कुनै सुइँको नै नदिई भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई भेटेको लगायतका विषयमा पार्टीको उच्च नेतृत्वमा तहमा तीव्र विवाद भइरहेको छ । यिनै कारणले विगत लामो समयदेखि पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच भेटवार्ता समेत भएको थिएन । ११ दिनको संवादनहीनतालाई तोड्दै बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएर समस्या समाधानको उपाय निस्कने आशा गरिए पनि महासचिव पौडेलको स्टाटसले समस्या झनै गम्भीर बनेको संकेत गरेको विश्लेषकहरु बताउँछन् । 

सो भेटमा ओलीले पहिला दुई अध्यक्षबीच सहमति हुनुपर्ने अडान लिएका थिए भने प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए । दुवैको आ-आफ्नो अडानका कारण सहमति निस्किन नसकिरहेको बेला पार्टी एकताका समेत एक सूत्रधार मानिने र पछिल्ला विवादहरु मिलाउन सक्रिय भूमिका निर्वाह गरेका नेकपा महासचिव पौडेलले पार्टीभित्र ठूलै संकट आउन लागेको संकेत गरेका छन् । 

‘राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो । तर, आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ ।’ उनले लेखेका छन्–‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

स्मरणरहोस्, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेकोसम्मका खबरहरु बाहिर आइरहेको, दुई अध्यक्षबीच कुरा नमिलेकै बेला महासचिव पौडेलको यो अर्थपूर्ण स्टाटस आएका हो । यसलाई धेरैले नेकपाभित्रको विवाद कति गम्भीर मोडमा पुगिसकेको रहेछ भन्ने देखिने भन्दै आफ्नो विश्लेषण सार्वजनिक गरिरहेका छन् ।