काठमाण्डौ । केही मन्त्रीको नियुक्ति र भारतीय गुप्तचर संस्थाको प्रमुखसँग पार्टीसँग सल्लाह नै नगरी भेट गरेको विषयले नयाँ समस्या निम्तिएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पूर्व निर्धारित केन्द्रीय कमिटी बै७क स्थगित भएको छ । 

पार्टी केन्द्रीय कार्यालयका सचिवहरु श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त विज्ञप्ति जारी गरी कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गर्ने भनिएको केन्द्रीय कमिटीको तेश्रो बैठक स्थगित गरिएको प्रष्ट पारेका हुन् । 

स्थगित बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना हुने विज्ञप्तिमा दाबी गरिएको छ । उनीहरुले कोभिड १९ महामारीको बढ्दो प्रकोपका कारण केन्द्रीय कमिटी बैठक पूर्व निर्धारित समयभन्दा एक महिना पछि सार्नु परेको दाबी समेत गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष प्रचण्डसँग सल्लाह नै नगरी आफूखुशी केही मन्त्रीहरु नियुक्त गरेपछि यसबाट नेकपामा बढ्दो विश्वास डगमगाएको छ । लकडाउनको बेलामा लगभग फूटको संघारमा पुगेको पार्टीलाई दुवै पक्ष(ओली र प्रचण्ड पक्ष)का नेताहरुको सक्रियताका कारण जोगाइएको थियो । तर, पछिल्लो घटनाक्रमले भने नेकपामा फूटको संभावनालाई बढाएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । 

एकलौटी ढंगले मन्त्री नियुक्त गरेर प्रचण्डलाई चिढाएका ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रोटोकल विपरीत र पार्टीलाई जानकारी नै नदिई भेट गरेपछि यसले नयाँ विवाद सिर्जना गरेको छ । यो विषयलाई समेत प्रचण्ड र माधव नेपाल पक्षले विरोध गरिरहेका कारण पछिल्लो समय नेकपाभित्रको विवाद थप चर्किएको विश्लेषण गर्न थालिएको छ । 

कतिपय स्रोतहरुले ओली र प्रचण्डबीच अब सहमति हुन नसक्ने र पार्टी फूटतर्फ उन्मुख देखिएकोले समेत केन्द्री कमिटी बैठक बस्न नसकेको दाबी गरेका छन् । कोभिड महामारी बाहाना मात्र रहेको स्रोतहरु बताउँछन् ।