काठमाण्डौ । कोरोना संकटबीच नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ। 

चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा बीमाशुल्कबापत १ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आर्जन १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको दाबीभुक्तानी भने ८.२९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ५५ करोड ४६ लाख रुपैयाँ दाबीभुक्तानी गरेको कम्पनीले यो अवधिमा ५० करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६.०८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३१ करोड ३० लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च बढेर समीक्षा अवधिमा ३३ करोड २० लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको बीमा कोषको आकार भने ३६.९२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४३ करोड १० लाखमा सीमित बीमा कोषको आकार कम्पनीले बढाएर समीक्षा अवधिमा ५२ करोड ४४ पुर्याएको छ। कम्पनीको जगेडा तथा कोषको आकार १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। 

समीक्षा अवधिका कम्पनीले खुद नाफा ३०.५१ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ३४ करोड ३६ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १२ करोड १ लाख रुपैयाँ पुर्याएको छ। यस्तो आय अघिल्लो वर्ष १० करोड ९ लाख रुपैयाँमा सीमित थियो। कम्पनीले पुनर्बीमा कमिसनबाट हुने आय २१ करोड ८६ लाख रुपैयाँबाट बढाएर २५ करोड २१ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। 

अघिल्लो आर्थिक वर्ष २ लाख ७६ हजार ७१५ वटा बीमालेख जारी गरेको यो कम्पनीले समीक्षा अवधिको वर्षमा २ लाख ४४ लाख ८७४ वटा बीमालेख जारी गर्न सकेको देखिन्छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.५३ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष २९.२२ रुपैयाँ रहेको ईपीएस बढेर ३४.०५ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २०८.९६ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७१.९५ रुपैयाँ रहेको छ।