काठमण्डौ । सेयर बजारमा अहिले निकै रौनक छाएको छ। बजार बुलिस भएको अवस्थामा लगानीकर्ताहरुको मनोबल पनि बढ्दै गएको पाइन्छ। यतिबेला अन्य क्षेत्रमा भन्दा सेयर बजारमा ठूलो परिमाणमा लगानी भित्रिरहेको छ।

दैनिकजसो नयाँ–नयाँ रेकर्ड कायम भइरहेको बजारमा अहिले नयाँ तथा पुराना लगानीकर्ता सक्रिय रुपमा कारोबार गरिरहेका छन्। यसै सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख चन्द्रसिंह साउद र बिजशालाकर्मी अर्जुन तिमिल्सिनाबीच बजारको पछिल्लो अवस्थाबारे भएको संक्षिप्त कुराकानीको सारांश यहाँ प्रस्तुत गरेका छौँ।   

आज बजारले २५ सयको विन्दु छोएर पछि फेरि थोरै करेक्सन आएको छ। अहिलेको बजार कसरी निहाल्नुभएको छ ? 

– बजारमा नयाँ–नयाँ रेकर्ड कायम भएका छन्। काराबारको हिसाबले होस् वा इनडेक्स अनि सबइन्डेक्सले होस्, नयाँ रेकर्ड कायम हुनुमा सबैको साथ छ। खासगरी अनलाइन प्रविधि र नेपाल धितोपत्र बोर्डको साथले अहिले नेपालको सेयर बजारमा रौनक छाएको छ। एकपटक अनलाइन प्रविधिमा समस्या आएको थियो, त्यो पनि अहिले समाधान भइसक्यो। नेप्सेलाई बोर्डले पनि उत्तिकै साथ दिइरहेकै छ। 

अहिले बजार कोरनाभाइरसका कारण पनि बढेको हो। नेपालमा मात्रै नभएर संसारभरका पुँजीबजारमा यस्तै अवस्था छ। अहिले साना तथा ठूला लगानीकर्ता र इन्भेस्टमेन्ट कम्पनीहरु बजारमा आबद्ध छन्। विदेशमा बस्ने लगानीकर्ताको पनि साथ छ। 

नेपालको सेयर बजार अहिलेको अवस्थामा आइपुगेकोमा म सबै लगानीकर्ता, ब्रोकर कम्पनी र धितोपत्र बोर्डलाई बधाइ तथा धन्यवाद दिन चाहन्छु। 

धितोपत्र बोर्डले अब नेपालमा नयाँ स्टक एक्सचेन्ज निर्विल्कल्प भइसकेको भन्ने कुरा गरेको छ नि ? 

– सीमित कर्मचारीको बाबजुत पनि हामीले काम गरिरहेकै छाँै। अर्को स्टक एक्सचेन्जको आवश्यकता तथा विकल्प मैले भन्ने कुरा होइन। मेरो पदीय दायित्वले भन्न पनि मिल्दैन। धितोपत्र बोर्ड, नेपाल सरकार तथा लगानीकर्तालाई आवश्यक छ भन्ने लाग्छ भने हुन सक्छ।

लगानीकर्ताले समयमा पैसा नपाएको, डिस्प्ले नखोलेको तथा ब्रोकरमा चिसो सिँढीमा बसेर आफ्नै मोबाइलमा बजार हेर्ने गरेको पाइन्छ नि ? 

– अहिलेको महामारीमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर ब्रोकर हाउसहरुमा नेपाल सरकार र धितोपत्र बोर्डले डिस्प्ले बन्द गरेको हो। जहाँसम्म चिसो सिँढीमा बसेको विषयमा छ, ब्रोकर हाउसको  क्षेत्रफलको मापदण्ड बोर्डले नै तय गरेको छ, त्योअनुसार हुनैपर्छ। पैसाको विषयमा लगानीकर्ता तथा ब्रोकरबीचको कुरा हो। यस विषयमा धितोपत्र बोर्डले पनि चासो राखेको छ। हाम्रो पनि सुपरिवेक्षण टोलीले अनुगमन गर्दै आएको छ। यहाँ दुवै पक्ष (लगानीकर्ता र ब्रोकर) संवेदनशील हुनै पर्छ। हामीले कारोबार राफसाफका विषयमा समयमै गर्न ब्रोकरलाई निर्देशन दिँदै आएका छौँ। 

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय कुरामा मात्रै सीमित भयो ? कहाँ अड्किएको छ ?

– बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयमा हामीले निवेदन दिएका छौँ। १०–१२ वटा कमर्सियल बैंकले ब्रोकर लाइसेन्स लिनका लागि निवेदन दिएका छन्, जुन स्थगनमात्रै भएको हो खारेज भएको छैन। अर्थ समितिले यस विषयमा कार्यविभाजन गरिसकेको छ। यस विषयमा केही काम उपसमितिले गर्ने, केही काम धितोपत्र बार्डले गर्ने र केही काम हामीले गर्ने हो। धितोपत्र बोर्डले यसरी अगाडि बढ भन्नेबित्तिकै हामी बढ्छौँ।

नेटवर्थ नेगेटिभ भएका कम्पनीले पनि आईपीओ जारी गरिरहेका छन् नि ! यसले सर्वसाधरणको लगानी जोखिममा पर्दैन र ? 

तपाइँले राम्रो प्रश्न गर्नुभयो। हेनुस्, विदेशमा यस्तो हुन्न। सानो पँुजी तथा नेगेटिभ नेटवर्थ भएका जुन कम्पनी छन्, त्यस्ता कम्पनीको आईपीओ ओभर दी काउन्टर (ओटीसी) मार्केटमार्फत निष्कासन हुन्छ। हामी पनि ओटीसी मार्केटको अध्ययन गर्दैछौँ। त्यस्ता कम्पनीलाई अहिले आईपीओ निष्कासन गर्न दिनु हाम्रो बाध्यता हो। यसलाई नियन्त्रण गर्न ऐन–नियममै परिर्माजन गर्नुपर्छ। नेगेटिभ नेटवर्थ भएका र पुँजी पनि एक–डेढ करोड रुपैयाँमात्र भएका हाइड्रो तथा माइक्रोफाइनान्सलाई ऐन–नियम परिवर्तन गरेर ओटीसी मार्केटमार्फत आईपीओ निष्कासन गर्न दिने विषयमा सोचिरहेका छौँ।