अनमोल केसीले निर्माण आरम्भ हुन लागेको चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिने सम्झौता गरेको खबरले केही समयअघि नेपाली चलचित्र क्षेत्र तातेको थियो । अनमोलकै नाममा एकपछि अर्को चलचित्रले मनग्य आम्दानी गरेपछि उनले आफ्नो पारिश्रमिक एकाएक बढाएका हुन् । पहिलो चलचित्र ‘होस्टल’मा उनलाई १ लाख ७५ हजार पारिश्रमिक प्रदान गरिएको थियो । दोस्रो चलचित्र ‘जेरी’मा उनले ५ लाखभन्दा बढी बुझेका थिए । तेस्रो चलचित्र ‘गाजलु’मा ८ लाख लिएका अनमोललाई आफ्नो चलचित्रमा नायक लिन पाए २० लाखभन्दा बढी तिर्न निर्माता तयार छन् । किनभने अनमोलको अनुहारको भरमा चलचित्रले करोडौं कमाउँछ । 

तीनवटा चलचित्रका निर्मातालाई करोडपति बनाइसकेका अनमोलले २० लाख लिँदा यदि चलचित्रले करोडभन्दा माथिको फाइदा दिन्छ भने जो कोही निर्माता उनलाई २० लाख तिर्न राजी हुन्छन् । अनमोल भने एकपटकमा एउटा चलचित्रमा काम गर्ने नीति लिएर अघि बढ्दैछन् । प्रिप्रोडक्सनका क्रममा रहेको ‘कृ’को निर्माण सम्पन्न नभएसम्म अनमोलले कुनै पनि चलचित्रमा काम नगर्ने सम्झौता भएको छ । 

नेपाली चलचित्रको पछिल्ला पुस्तामा दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछानेहरू पनि आफ्नो पारिश्रमिक ५ लाखभन्दा माथि लिने भैसकेका छन् । तीभन्दा अघिको पुस्ताका आर्यन सिग्देल, निखिल उप्रेती, विराज भट्टहरूको पारिश्रमिक पनि ५ लाखभन्दा माथि नै छ । 

कुनै बेला एउटा चलचित्रमा काम गर्न राजेश हमालले ४ लाख लिएभन्दा त्यो ठूलो समाचार बन्थ्यो, जसरी अहिले अनमोल केसीले एक चलचित्रका लागि २० लाख पारिश्रमिक लिने भएभन्दा बनेको छ । समयअनुसार पैसाको मूल्य घट्दो छ, महँगी बढ्दो छ । यसैकारण पनि उतिबेला ४ लाख लिने राजेश हमाल र अहिले २०–२५ लाख लिने अनमोलको स्थिति उही हो भन्न सकिन्छ । बजारमा हरेक वस्तुको मूल्यवृद्धि भैरहेको सन्दर्भमा चलचित्रमा काम गर्ने कलाकारहरूले पनि आफ्नो मूल्य तोकेर लिन पाउनु उनीहरूको अधिकार हो, यदि ती कलाकारको नाम (अनुहार)का भरमा दर्शक सिनेमाहलमा ओइरिन्छन् भने ।

नेपाली चलचित्रले शिवशंकर, विश्व बस्नेतपछि शिव श्रेष्ठ र भुवन केसी, त्यसपछि राजेश हमाल र रमेश उप्रेती अनि त्यसपछि दिलीप रायमाझीहरूको युग देखिसकेको छ । निखिल उप्रेती, विराज भट्ट र आर्यन सिग्देलको युगपछि अहिले अनमोल केसी, दयाहाङ राई र सौगात मल्लको युग चलिरहेको छ । आफ्नो युग चलिरहेका बखत आफैंले आफ्नो मूल्य तोक्न पाउनु पनि पर्छ, तर त्यसले निर्माताको ढाड न सेकियोस् । 

दिलीप रायमाझीले ‘आदिकवि भानुभक्त’ मा काम गरेबापत १५ हजार रुपैयाँ पारिश्रमिक पाएका थिए । जति बेला उनी चलचित्रमा नायक–नायिकाहरूको पछाडि नाच्थे, त्यतिबेला प्रतिगीतको ५ सयदेखि हजार रुपैयाँ पाउँथे । त्यतिबेला दिलीपका लागि चलचित्रमा मुख्य भूमिका पाउनु नै ठूलो कुरा थियो, त्यसमाथि १५ हजार रुपैयाँ त ठूलै रकम भैहाल्यो । उनलाई ‘स्टार’ बनाएको चलचित्र ‘दर्पणछायाँ’ मा दिलीपले कुनै डिमान्ड नगरी काम गरेको बताइन्छ । निर्देशक तुलसी घिमिरेको भनाईमा चलचित्रमा थोरै डिमाण्ड निरुता सिंहले गरेकी थिइन्, किनभने त्यतिबेला उनी स्थापित भैसकेकी थिइन् । 

बढ्दै गयो पारिश्रमिक 
दयाहाङ राईले पहिलो चलचित्र ‘दासढुंगा’ मा अभिनय गर्दा निर्माताबाट ३० हजार रुपैयाँ बुझेका थिए । अहिले उनी एउटा चलचित्रमा काम गरेबापत ८ लाखभन्दा माथि लिन्छन् । सौगात मल्लले पनि ‘दासढुंगा’मा निर्माता अपिल विष्टसँग ३० हजार नै पाएको हुनुपर्ने बताउँछन् उक्त चलचित्रका निर्देशक मनोज पण्डित । ‘मैले दया र सौगातलाई ३०–३० हजार दिनु भनेको थिएँ । उनीहरूले कति पाए, त्योचाहिँ मलाई थाहा भएन ।’ अनमोल केसीको ‘डेब्यु’ चलचित्र हो, होस्टेल । त्यसअघि उनले आफ्नै ब्यानर काजल फिल्म्सको चलचित्र ‘साथी म तिम्रो’को एउटा गीतमा अभिनय गरेका थिए । 

उक्त चलचित्रमा पाहुना कलाकारको जस्तो अभिनय गर्दा अनमोलले पारिश्रमिक लिएनन्, किनभने निर्मातामा उनको पनि नाम थियो । त्यसपछि ‘होस्टल’मा नायक भएर आउँदा अनमोलले निर्माता सुनिल रावलसँग १ लाख ७५ हजार बुझे । ‘होस्टेल’ सुपरहिट भएपछि अनमोलले त्यसपछिको चलचित्र जेरीमा ५ लाख लिए भने जेरी पनि सुपरहिट भएपछि ‘गाजलु’मा ८ लाख लिएका थिए । उनका बाबु तथा नायक भुवन केसीद्वारा निर्मित तथा निर्देशित चलचित्र ‘ड्रिम्स’मा आफै पनि निर्माता भएका कारणले उनले पारिश्रमिक लिएनन्, बरु चलचित्र सुपरहिट भएपछि नाफाको हिस्सा प्राप्त गरे । 

नायिकाहरू बढीमा सात
नायिका रेखा थापाले आफ्नो पहिलो चलचित्र ‘हिरो’मा २१ हजार पारिश्रमिक पाएकी थिइन् । उनले प्रदर्शोन्मुख पछिल्ला आफ्ना दुई चलचित्र ‘पलाँस’ र ‘डायरी’मा अभिनय गरेबापत ४–४ लाख लिएको बताइन्छ । कुनै समय रेखाले आफ्नो होम प्रोडक्सनबाहेकका चलचित्रमा काम गर्दा ५ लाखसम्म लिएको दाबी गरिन्छ । नायिका प्रियंका कार्कीले पहिलो चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’मा निर्मातासँग १ लाख २० हजार बुझेकी थिइन् ।

अहिले छायांकन भैरहेको चलचित्र ‘ह्याप्पी डेज’सम्म आइपुग्दा उनले ४ लाख लिन थालेकी छिन् । नायिका केकी अधिकारीले पहिलो चलचित्र ‘स्वर’मा १ लाख पारिश्रमिक पाएको बताएकी छिन् । चलचित्र ‘बाग्मती’ आफूलाई सबैभन्दा धेरै पारिश्रमिक दिने चलचित्र भएको बताउने केकीले उक्त चलचित्रबाट ४ लाख बुझेकी थिइन् । प्रदर्शोन्मुख पछिल्लो चलचित्र ‘लभसासा’ तथा निर्माणको क्रममा रहेका ‘घामपानी’ र ‘ऐश्वर्य’मा भने उनले ३–३ लाख लिएको बताएकी छिन् । नायिका अशिष्मा नकर्मी पहिलो चलचित्र ‘अन्तराल’मा ७० हजार पारिश्रमिक पाएको बताउँछिन् भने पछिल्लो चलचित्र ‘संरक्षण’का लागि उनले १ लाख ५० हजार प्राप्त गरेकी छिन् । 

छवि ओझाको क्याम्पकी नायिका शिल्पा पोखरेललाई निर्माता ओझाले पहिलो चलचित्र ‘लज्जा’मा उनलाई ५१ हजार र पहिरन दिएका थिए । किस्मत टुसम्म आइपुग्दा उनको पारिश्रमिक १ लाख पुगिसकेको छ । एकाएक मूल्य बढाउने नायिकामा ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम आउँछ । ‘ड्रिम्स’का लागि उनलाई १ लाख पारिश्रमिक दिइएको थियो भने उनले झरना थापाको निर्देशनमा चलचित्र ‘ए मेरो हजुर’का लागि ४ देखि ५ लाख लिएको बताइन्छ । निर्माणकै क्रममा रहेको ‘तिमीसँग’मा पनि उनले ५ लाख लिन लागेको जानकारीमा आएको छ । 

नायिका नीता ढुंगानाले पहिलो चलचित्र ‘दबाब’मा ७० हजार पाएकी थिइन् भने ‘नोटबुक’बाट ‘गालारातै गर्ल’ का रूपमा चर्चामा आएपछि उनको पारिश्रमिक ३ लाख पुगेको छ । नायिका नम्रता श्रेष्ठ धेरै पारिश्रमिक लिने नायिकामा पर्छिन् । नम्रताले पहिलो चलचित्र ‘सानो संसार’ मै पनि १ लाखभन्दा बढी पारिश्रमिक लिएकी थिइन् भने हालै घोषणा भएको चलचित्र ‘पर्व’का लागि ७ लाख पारिश्रमिक लिन लागेको बताइन्छ । 

कलाकारहरूले कर तिरेका छन् 

चूणमणि शर्मा-महानिर्देशक, आन्तरिक राजस्व विभाग 
नेपालमा कलाकारले तिर्ने कर भनेर छुट्याइएको छैन । उनीहरूले व्यक्तिगत रूपमा आफ्नो आयअनुसार तिरेको पाइन्छ । धेरैजसो घटनामा पारिश्रमिक दिनेहरूले नै कर कटाएर पारिश्रमिक दिन्छन् । यदि कलाकारले अन्य व्यवसाय गरेर कमाएको सम्पत्ति छ भने उसले आय व्ययको हिसाबअनुरूप कर तिर्नुपर्ने हुन्छ । 

नेपालमा कसैले वर्षमा ३ लाखसम्म आम्दानी गर्छ भने उसले सामाजिक सुरक्षा करस्वरूप १ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । यदि त्यसभन्दा बढी भए पहिलो १ लाखको १५ प्रतिशतका आधारमा र त्यसभन्दा माथिको कमाइमा २५ प्रतिशतका आधारमा कर तिर्नुपर्ने हुन्छ । यदि वार्षिक २० लाखभन्दा माथिको कारोबार हुन्छ भने मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता भएको हुनुपर्छ । नेपालमा कतिपय कलाकारले आफ्नो व्यक्तिगत आम्दानीका आधारमा कर तिर्दै आएका छन् भने कतिपयले छुट्टै फर्म बनाएर पनि कर तिरेको पाइन्छ ।

करको कुरा
कसैको व्यक्तिगत आम्दानी वार्षिक ३ लाखभन्दा माथि छ भने उसले राज्यलाई कर बुझाउनुपर्छ । त्योभन्दा बढी भए पहिलो १ लाखको १५ प्रतिशत र त्योभन्दा पनि माथिको कमाइको २५ प्रतिशतका आधारमा कर तिर्नुपर्ने हुन्छ । यदि कसैले वार्षिक २० लाखभन्दा माथिको कारोबार गर्छ भने उसले मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता हुनुपर्छ अर्थात् प्यान नम्बर लिएर निरन्तर कर बुझाएको हुनुपर्छ । सरसर्ती हेर्दा नेपाली चलचित्रका एक दर्जनभन्दा बढी कलाकार करको दायरामा आउँछन् । 

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई भन्छन्– ‘नेपाली चलचित्र चलेर राम्रो आम्दानी हुने बाटोमा अघि बढ्दैछ । दुई–चार जनाले नियमित कर बुझाइरहेका पनि छन् । कसले बुझायो वा बुझाएन भन्ने कुराको अनुगमन कर कार्यालयले गर्नुपर्छ र चलचित्र बिकास बोर्ड कर कार्यालयसँग समन्वय गरेर काम गर्न तयार छ ।’ एक निर्माताले नाम नछाप्ने शर्तमा भने– ‘यहाँ केही कलाकारले पाउने पारिश्रमिक धेरै हुन्छ, तर अनुबन्धपत्रमा कम लेखिन्छ । आन्तरिक सहमतिमा कागज गरेर चलचित्रमा काम गर्ने–गराउने क्रम बढ्दो छ ।’ बोर्डका अध्यक्ष राई त कलाकारहरूले विदेशमा हुने कार्यक्रमबाट कमाएर ल्याएको पारिश्रमिकको पनि कर बुझाउनुपर्छ भन्छन् । उनीले आम्दानीको स्रोत स्पष्ट नभए कमाएको रकम स्वत: ‘ब्ल्याक मनी’ हुनसक्ने चेतावनी पनि दिन्छन् तर यहाँ कर छल्ने र आम्दानी लुकाउनेहरूको छानबिन कसले गर्ने ?

निर्मातालाई जुवा
केही समयअघि एक नवप्रवेशी कलाकारले एक चलचित्रका लागि ५ लाख पारिश्रमिक मागेको कुरा केही अनलाइन मिडियामा आएको थियो । जबकी ती कलाकारले आफ्नो नामको भरमा त्यो मितिसम्म कुनै चलचित्रलाई व्यवसायिक फाइदा दिएका थिएनन् । पारिश्रमिक माग्नु कलाकारको हक हो, र उसले भनेको जति दिनु वा नदिनु निर्माताको निर्णय । एउटा चलचित्र सुपरहिट हुँदा वा मनग्गे कमाउँदा पनि निर्माताको हातमा कुल कमाइको धेरैमा पचास प्रतिशत पर्छ । निर्माता तथा वितरक प्रदीपकुमार उदयका अनुसार प्रवेश टिकटको मूल्यमा सरकारले तोकेको कर काटेपछि बच्ने रकमको ५० प्रतिशत निर्माताले प्राप्त गर्छन् । 

सिंगल थियटरमा चलचित्र नउत्रेसम्म ५० प्रतिशत र मल्टिप्लेक्समा पहिलो साता मात्र ५० प्रतिशत र त्यसपछि हप्तैपिच्छे ४२, ३७, ३० हुँदै प्रतिशत घट्दै जान्छ । यस्तो अवस्थामा चलचित्र चलेन भने निर्माता स्वत: घाटामा हुन्छ । नेपालमा अहिले सयवटा पनि सिनेमाघर छैनन् । विदेशमा चिठ्ठा परे जसरी आक्कल–झुक्कल चलचित्र प्रदर्शन गर्न पाइने अवस्था छ । निर्माताले आफ्नो ५० लाखभन्दा बढी रकमको जुवा खेलिरहेको जस्तो चलचित्र निर्माणको अवस्थामा नायकले ५ लाख, नायिकाले ४ लाख र अरू कलाकारलाई गरेर १५ लाखभन्दा बढी पारिश्रमिक बुझाउनु परेपछि निर्मातालाई वास्तवमै अप्ठेरो हुन्छ । यद्यपि चलचित्रमा लगानी गर्छु भनेर आएका निर्माताले नाम कहलिएका कलाकारलाई उनीहरूले माग गरेबमोजिम रकम त दिनैपर्छ, अन्यथा अर्को कलाकार खोज्नुपर्ने हुन सक्छ ।

गफको पछाडि नदौडौं 
फलानो कलाकारले २० लाख लियो, फलानोले १० लाख लियो भनेर केही मिडियामा आउने खबरबाट कलाकारहरूको पारिश्रमिक आँकलन हुन सक्दैन भन्छन्, निर्माता माधव वाग्ले । अर्का निर्माता तथा वितरक प्रदीपकुमार उदय भन्छन्, ‘मिडियाले चलाएको हल्लाको भरमा कलाकारहरूको रेट (पारिश्रमिक) तोकिएको छ, जुन एकदमै गलत हो ।’ माधव वाग्लेका अनुसार जसले जतिसुकै भने पनि कसैले पनि ५–६ लाखभन्दा बढी पाएका छैनन् । उनका अनुसार यति लिएँ, उति दिएँ भनेर मौखिक रूपमा जसले जति भनिदिए पनि भयो । प्रदीपकुमार उदय सोध्छन्–‘मिडियामा आएको हल्लालाई मान्ने कि कलाकारहरूले पाउने पारिश्रमिकको वास्तविकतालाई ? त्यसैले गफ र हल्लाको पछाडि नदौडौं ।’ 

पारिश्रमिकमा ठगिएका पनि छन्
‘एउटा चलचित्रमा काम गरेँ, चलचित्र निर्माण सम्पन्न हुने बेलासम्म किस्ता–किस्ता गरेर आधा पारिश्रमिक मात्र पाएँ । आधा पारिश्रमिक पाउनै बाँकी थियो । चलचित्र प्रदर्शन भयो र नराम्रोसँग डुब्यो । त्यसपछि निर्माता सम्पर्कबाट टाढा भए । मैले पनि विचरा डुबेको निर्मातासँग के किचकिच गर्नु भनेर बाँकी पारिश्रमिक माया मारिदिएँ ।’ यो भनाइ हो नायिका अशिष्मा नकर्मीको । पारिश्रमिकको कुरामा निर्माणपक्षले कबुले जतिको रकम नदिए पनि एकताका चलचित्र निर्माता संघमा उजुरी निकै पुग्थे र त्यसमा विवाद पनि हुन्थ्यो । एक पीडित कलाकार भन्छन्– ‘नाम कहलिएका कलाकारहरूले त जसरी पनि अनुबन्धपत्रमा सहमति भएअनुसारको पारिश्रमिक उठाउँछन्, तर हामी जस्ता सहकलाकारहरूलाई जसले पनि हेप्छन् । पारिश्रमिक नै नदिई काम गराउँछन् ।’ 

हिट पारिश्रमिक

राजेश हमाल
पहिलो चलचित्र हिरो : १३ हजार
देउता : २ लाख
हिरो : १ लाख २५ हजार
बागमती : ५ लाख 

 

निखिल उप्रेती

पहिलो चलचित्र पिंजडा : डेढ लाख (डबिङ नगरेकाले १५ हजार घटाइएको)
परिचय : १० लाख
अहिले : १२ लाख
बजारमा चलेको : १२ लाख 

 

आर्यन सिग्देल 
पहिलो चलचित्र किस्मत : २० हजार
सानो संसार : २ लाख ५० हजार
लज्जा : २ लाख
नोभेम्बर रेन : ८ लाख 

 

रेखा थापा 
पहिलो चलचित्र हिरो : २१ हजार
अन्दाज र रावण : १ लाख २५ हजार
हिरो रिटन्र्स : ५ लाख

 

अनमोल केसी 
पहिलो चलचित्र होस्टेल : १ लाख ७५ हजार
जेरी : ५ लाखभन्दा माथि 
गाजलु : ८ लाख
कृ : २० लाख

 

दयाहाङ राई
पहिलो चलचित्र दासढुंगा : ३० हजार
लुट : ५० हजार
कबड्डी/कबड्डी–कबड्डी : सेयरमा
लुट टु : ६ लाखभन्दा माथि 

 

सौगात मल्ल 
पहिलो चलचित्र दासढुंगा : ३० हजार
लुट : ५० हजार
संरक्षण : ५ लाख
लुट टु : ६ लाखभन्दा माथि 

 

प्रियंका कार्की
पहिलो चलचित्र मेरो बेष्टफ्रेन्ड : १ लाख २० हजार
नाइँ नभन्नु ल २ र ३ : ३ लाख
छक्का पञ्जा :  ३ लाख
सुन्तली, ह्याप्पी डेज, माला : ४ लाख

 

केकी अधिकारी
पहिलो चलचित्र स्वर : १ लाख
महसुस : २ लाख
बाग्मती : ४ लाख
लभसासा, ऐश्वर्य, घामपानी : ३/३ लाख
जानकार स्रोतका आधारमा 

साप्ताहिकबाट साभार