काठमाण्डौ । अमेरिकी डलरको विनियम दर बिहीबार नेपालकै इतिहासको उच्च विन्दुमा पुगेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.९० र बिक्रीदर १२२.५० रुपैयाँ कायम भएको छ। यो विनिमय दर हालसम्मकै उच्च हो। 

यसअघि गत मार्च २४ तारिखमा डलरको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२१.७४ रुपैयाँ र बिक्रीदर १२२.३४ रुपैयाँ पुगेको थियो।

आज बिहीबार डलरको भाउ एकैदिन १.१९ रुपैयाँले बढेको छ। हिजो बुधबार डलरको भाउ ९३ पैसाले घटेर प्रतिडलर खरिददर १२०.७१ रुपैयाँ र बिक्रीदर १२१.३१ रुपैयाँ कायम भएको थियो। अप्रिल १ देखि डलरको भाउमा निकै उतारचढाव आइरहेको छ। 

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको त्रास विश्व अर्थतन्त्र खस्किएको बेला अमेरिकी डरल बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ झनै कमजोर बन्दै गइभरहेको छ। डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्। 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर भएको छ।