काठमाण्डौ । नेपाल धितो पत्र बोर्ड धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल अर्गनाइजेसन अफ सेक्युरिटीज कमिसन( आइओएससीओ)को एशोसिएसट सदस्य नियुक्त भएको छ । 

आइओएससीओले सन् २०१६ जुलाईदेखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डलाई एशोसिएट सदस्यता प्रदान गरेको हो । 

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार नेपाल धितोपत्र बोर्ड कयौं वर्षदेखि यो अन्तर्राष्ट्रिय संस्थाको सदस्यताका लागि प्रयासरत थियो । धितोपत्र बजारलाई पूर्ण स्वचालित बनाई विभिन्न सुधारात्मक कार्य गरेपछि आइओएससीओको सदस्यता प्राप्त भएको विज्ञप्तिमा दाबी गरिएको छ ।

सदस्यता प्राप्तिपछि बोर्ड तथा नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको नियामक निकायको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा बोर्ड तथा नेपालको धितोपत्र बजार स्वतः स्थापित भएको छ ।’ गिरीले भने । 

अब के हुन्छ ?
बोर्डका अनुसार आइओएससीओको सदस्यता प्राप्तिसँगै आगामी दिनमा धितोपत्र बजारको नियमन तथा विकासमा अन्तर्राष्ट्रिय सीप, दक्षता तथा अनुभव हासिल गरी नेपालको धितोपत्र बजारको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्नसक्छ । 

आइओएससीओका महासचिवले नेपाल धितोपत्र बोर्डलाई पठाएको सदस्यता प्राप्तिसम्बन्धी पत्र । 

....................................................................................

यो अन्तर्राष्ट्रिय संस्थाको सदस्यता दक्षिण एशियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, चीन लगायत विश्वका १ सय २५ देशले पाइसकेका छन् । यति धेरै देशहरु झै नेपाल पनि सदस्य हुँदा धितोपत्र सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालमा बोर्डको उपस्थिति देखिइने, अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने र यसबार्ड बोर्डलाई धितोपत्र बजार नियमन सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तको थप ज्ञान तथा अनुभव वृद्धि हुनसक्छ । 

धितोपत्र बजारमा लगानीकर्ताहरुको विश्वास अभिवृद्धि भई पूँजी प्रवाहमा वृद्धि हुने र यसबाट पूँजी परिचालनमा गतिशिलता आउने तथा पूँजीको लागत समेत कम गर्न सघाउ पुग्ने बोर्डले विश्वास लिएको छ । 

यो संस्थाको सदस्यता प्राप्तिसँगै बोर्ड र नेपालको धितोपत्र बजारको विश्वमा हुने चिनारीबाट विश्वका लगानीकर्ताहरुमा नेपालको धितोपत्र बजारको विश्वसनीयता अभिवृद्धि भई क्रस बोर्डर व्यापार तथा सूचिकरणका लागि समेत महत्वपूर्ण सहयोग पुग्ने गिरीले दाबी गरेका छन् ।