काठमाण्डौ । विश्वकै फेसन हब अमेरिकाको राजधानी न्यूयोर्कको प्रतिष्ठित ‘कोर्टियर फेसन विक’को एकदिने संस्करण दक्षिण एशियामै पहिलो पटक शनिवार काठमाण्डौमा हुने भएको छ । 

दक्षिण एशियामै पहिलोपटक न्यूयोर्कमा चर्चित कोर्टियर फेसन विककै पछिल्लो संस्करणको रुपमा नेपालमा फेसन सो गर्न लागेका आयोजकहरुले यो इभेन्टमार्फत नेपालको फेसन पर्यटन विश्व बजारमा प्रवेशको मार्ग खुल्ने दाबी गरेका छन् । 

न्यूयोर्कको इलाइट फेसन हाउससँगको सहकार्यमा शनिवार बौद्धस्थित ह्यात होटलमा दि काठमाण्डौ पोष्टको प्रस्तुतीमा कोटियर फेसन नेपाल आयोजना हुन लागेको हो । ‘न्यूयोर्क कोटियर फेसन विक’का धेरैवटा सफलतापूर्वक श्रृंखला आयोजना गरिसकेको इलाइट फेसन आउसका प्रमुख कार्यकारी अधिकृत(सीइओ) एन्ड्रेस अकिनोले नेपालको एभिन्यूज ग्रुप अन्तरगतको एभरेष्ट इभेन्ट्स एण्ड एक्जीविसनलाई विश्वचर्चित कोटियर फेसन सो हरेक वर्ष नेपाल लगायतका देशहरुमा आयोजनाको अधिकार समेत प्रदान गरेको जानकारी दिए । 

उनले एभिन्यूज ग्रुपका कार्यकारी अध्यक्ष भास्करराज राजकर्णिकारसँग एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै दक्षिण एशियामै पहिलोपटक एभरेष्ट इभेन्ट्स एण्ड एक्जिविसन प्रालिको स्थानीय व्यवस्थापन तथा आयोजनामा विश्व प्रतिष्ठित ‘कोटियर फेसन सो’ हुन लागेको जानकारी दिंदै यो संस्करणले हरेक वर्ष निरन्तरता पाउने बताएका छन् । 

अब न्यूयोर्कमा हरेक वर्ष आयोजना हुने ‘कोटियर फेसन विक’मा नेपालका डिजाइनर र मोडलहरुले समेत प्रवेश पाउने बाटो खुलेको छ । यसले नेपालको फेसन पर्यटन विश्व बजारमा प्रवेश हुनेछ र समग्र पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने छ ।

विश्वचर्चित ‘फेसन सो’को नेपाली संस्करण सुरुवातको बिषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एभिन्यूज ग्रुपका अध्यक्ष राजकर्णिकारले नेपालमा पहिलोपटक कोटियर ‘फेसन सो’ हुन लागेको र एउटा विश्वचर्चित ब्राण्डलाई नेपालमा भित्र्याउन पाउँदा आफूहरु उत्साही भएको बताए । उनले इलाइट फेसन हाउससँगको सहकार्यले नेपालको फेसन पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग मिल्ने दाबी गर्दै भने–‘अब न्यूयोर्कमा हरेक वर्ष आयोजना हुने ‘कोटियर फेसन विक’मा नेपालका डिजाइनर र मोडलहरुले समेत प्रवेश पाउने बाटो खुलेको छ । यसले नेपालको फेसन पर्यटन विश्व बजारमा प्रवेश हुनेछ र समग्र पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने छ ।’

विश्वचर्चित ‘कोर्टियर फेसन शो’को बिषयमा जानकारी दिन शुक्रबार बौद्धस्थित ह्यात होटलमा आयोजित पत्रकार सम्मेलनका सहभागी । 

.........................................................................................................................................

राजकर्णिकारले इलाइटसँगको सहकार्य र कोटियर फेसन सोको नेपाल सुरुवातले अमेरिकाजस्ता फेसनका विश्व हबहरुमा अरु थुप्रै प्रवल गुरुङहरुको जन्म हुने दाबी गर्दै एभिन्यूज ग्रुपकै सहभागितामा यो फेसन सो आगामी दिनमा भारत, चीन, थाइल्याण्ड लगायतका शहरहरुमा समेत आयोजना हुने जानकारी दिए । 

नेपालमा कोर्टियर ‘फेसन सो’ प्रत्येक वर्ष आयोजना हुने र हरेक वर्ष कम्तीमा नेपालका २ मोडल र एक डिजाइनरलाई न्यूयोर्कमा आयोजना हुने कोटियर फेसन विकमा सहभागिता गराइने कार्यक्रममा जानकारी दिइयो । 

‘नेपालको फेसन पर्यटन तथा उद्योगको प्रवद्र्धनमा यो सम्झौता र सहकार्यले ठूलो सहयोग पुर्याउने छ ।’ राजकर्णिकारले थपे–‘हाम्रो संस्कृति र मौलिक कलाको समेत अब विश्व बजारमा प्रचार प्रसार हुनेछ । यसले हाम्रो कलाको विश्व बजार बिस्तार हुने समेत अपेक्षा गरेका छौ ।’ 

शनिवार ह्यात होटलमा हुने ‘फेसन सो’मा कोर्टियर फेसन विकबाट स्थापित मिस होण्डुरस, मिस पाराग्वे, फिनल्याण्ड, बर्लिन र अमेरिकाका सुपर मोडेलहरुको सहभागिता रहनेछ । केही सुपर मोडल पत्रकार सम्मेलनमा समेत सहभागी थिए । 
भारत र नेपालका डिजेहरु समेत सहभागी हुने ‘फेसन सो’मा नेपालका २८ चर्चित मोडलहरु र्याम्पमा उत्रनेछन् । १२ सिक्वेन्समा आयोजना हुने कार्यक्रममा १० सिक्वेन्स स्थानीय र बाँकी २ विदेशी रहने बताइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै एलाइट फेसन हाउसका सीइओ अकिनोले अमेरिका बाहेकका अन्य देशमा समेत चर्चित फेसन इभेन्ट बिस्तार गर्दै जाने उद्देश्य अनुरुप विश्वकै सर्वोच्च शिखर रहेको देश नेपाल प्राथमिकतामा परेको प्रष्ट्याए । उनले हरेक वर्षको सेप्टेम्बरमा केही नेपाली मोडल र डिजाइनरहरुलाई सोझै न्यूयोर्कको चर्चित फेसन विकमा सहभागिताको व्यवस्था मिलाइने जानकारी दिए । ‘प्राकृतिक सुन्दरताको धनी देश हो नेपाल ।’ उनले भने–‘यहाँका युवाहरु सिर्जनशील र क्षमतावान छन्, उनीहरुको यो ट्यालेन्टलाई विश्व बजारमा प्रवेश गराउने कार्यमा हाम्रो पूरापूर सहयोग हुनेछ ।’ उनले नेपाली डिजाइनर र मोडेललाई यो निकै ठूलो अवसर हुने समेत प्रष्ट्याए । 

कोर्टियर फेसन नेपालको मुख्य प्रायोजक रुस्लान भोड्काको उत्पादक जाउलाखेल डिस्टीलरी रहेको छ । सहप्रायोजकहरुमा सामसङ, टेन्सबर्ग र स्वेप्स रहेका छन् । अफिसियल टिभीमा एभिन्यूज, हस्पिटालिटी पार्टनरमा ह्यात होटल, ट्राभल पार्टनरमा सि एण्ड के नेपाल ट्राभल्स एण्ड टूर्स रहेका छन् । सहयोगीहरुमा नेपाल एयरलाइन्स, मोडल ग्लोबल, एटिक रेष्टुरेन्ट, एम्बेसी रेष्टुरेन्ट रहेका छन् । इभेन्टको क्रियटिभ पार्टनरमा इएनएस क्रियसन रहेका छन् । 

नेपालका छोटा मुभी अब सोझै जिएसएफमा
एभिन्यूज ग्रुपको प्रयासमा नेपालमा बन्ने छोटो समयका चलचित्रहरुको समेत दिन खुल्ने देखिएको छ । एभिन्यूज ग्रुपले अमेरिकाको न्यूयोर्कबाट वर्षौदेखि आयोजना हुँदै आएको विश्वचर्चित ग्लोबल सर्ट फिल्म्स अवार्डस्(जिएसएफ)को नेपालका लागि कपीराइटको अधिकार समेत पाएको छ । सोही पत्रकार सम्मेलनमा ग्लोबल सर्ट फिल्म्स अवार्डका संस्थापक समेत रहेका अकिनोले १५ मिनेट अवधिका छोटा नेपाली फिल्महरुलाई समेत अब अवार्डमा प्रवेश गराइने घोषणा गरे ।

‘फिल्म र फेसनलाई सँग सँगै लैजानुपर्छ ।’ उनले थपे–‘हामीले नेपाली फिल्ममेकरलाई समेत ग्लोबल सर्ट फिल्म्स अवार्डमा सहभागी हुने सुवर्ण अवसर प्रदान गर्ने निर्णय गरेका छौ ।’ उनका अनुसार अंग्रेजी भाषा र अंग्रेजीमा सब टाइटल भएका सबै खालका फिल्महरुलाई ‘क्यान फिल्म फेस्टिवल’ नामले समेत चिनिइने अवार्ड समारोहमा सहभागी गराइने जानकारी दिए । उनका अनुसार गत वर्ष यो अवार्डमा विश्वभरका ४ सय छोटा चलचित्रको सहभागिता थियो ।