आज सेयर बजार विभिन्न चरण पार गर्दै ३२०० माथि पुगेर ३००० भन्दा तलको विन्दु चलिराखेको छ। केही समययता सेयर बजारले सबैको ध्यान तानेको छ। सानाठूला, मझ्यौला, विद्यार्थी, गृहिणीदेखि रिटायर्ड व्यक्तिहरु सेयर बजारमा झुम्मिएको देखिन्छ। 

हुन त बयरिस बजारमा डरको मनोविज्ञानले काम गर्ने हुँदा सबै बुलिस बजारमा आउने हो। तर, सेयर बजारमा बेला–बेला आउने तरंगले सबैलाई अत्याउने गर्छ। खासगरी नयाँ र साना लगानीकर्ता बढी त्रसित हुन्छन्। 

घटेपछि बढ्ने र बढेपछि घट्ने बजारको प्रक्रिया नै हो। कसैले सुनियोजित रुपमा घटाउने खेल खेल्छन् भने त्यसलाई सरकार र सरोकारवाला निकाय कारबाही गर्नुपर्छ। तर, नेपालमा त्यस्तै निकायमा बसेकाले यस्ता काम गरेको बारम्बार कुरा सुन्न र पढ्न पाइन्छ। यो एउटा लाज मर्दो कुरा हो। 

अझ राजनीतिक विभेद हुँदा गरिने कति कामकारबाहीले बजारलाई नै मार परिरहेका कुरा पनि हामीले भोगिराखेकै छौँ। त्यस्ता सम्बन्धित निकायलाई पनि सरकारको अर्थ मन्त्रालयले सुझबुझका साथ नियाल्नुपर्छ। 

सरकारले बुझ्नुपर्ने कुरा 

सुनिन्छ, सेयर बजार दुई–चारजना तथा बाठाले मात्र कमाउने क्षेत्र हो। सरकारमै बस्नेले पनि यस्ता कुरा ओकलिरखेको पाइन्छ। दुई–चार अर्ब लगानी लगाएर कसैले करोडौँ त कमाउँछ नै। साना हुन् वा ठूला लगानीकर्ता, कसैले पनि यहाँ गुमाउने भनेर आएका हुँदैनन्। तर सरकारले बुझ्नुपर्ने कुरा के हो भने सेयर बजार भनेको लगानी जुटाउने क्षेत्र हो। आज बुलिस बजार हुँदा ठूला कम्पनीहरुले सहजै लगानी जुटाइराखेका छन्। एउटा कम्पनीले आफ्नो आयोजना पूर्ण गर्न सबै लगानी प्रोमोटरबाट सम्भव छैन। ठूलो लोन लिन पनि  नेपालमा त्यति सहज छैन। 

सरकार स्वयंको पनि ठूला आयोजनामा सर्वसाधारण लगानी रहोस् भन्ने सोच रहेको छ। त्यसबाट साना–ठूला लगानीकर्तामात्र लाभान्वित हुँदैनन्, स्वयं सरकार र देश पनि लाभाविन्त हुन्छ। कम्पनीमा हजारौँ मान्छेलाई रोजगार पाउँछन्। कम्पनी र कामदारबाट सरकारलाई पनि  कर आउँछ । करले देश विकास पनि टेवा पुर्याउँछ। यसले जनता र देशकै समृद्धि हुने हो। जसले नबिल बैंकको १० कित्ता सेयर प्राप्त गरेर दीर्घकालीन लगानी गरेर बस्यो, आज करोडपति बन्ने अवस्थामा पुगेको छ। सरोकारवालाले पनि साना लगानीकर्तालाई दीर्घकालीन लगानी गर्ने कुरामा जोड दिन सक्यो भने लागानीको जोखिम कम हुने र प्रतिफल धेरै प्राप्त गर्ने हुन आउँछ। 

सरोकारवाला साना लगानीकर्ताकै हितमा छन् त ?

हामीले सेयर बजार निकायमा बसेकाले सधैँ साना लगानीकर्ताको हितमा काम गर्ने र गरिराखेको भन्ने सुनिन्छ छ। तर, हेर्दा यसको उल्टो भएको जस्तो देखिन्छ। साना तथा नयाँ लगानीकर्ता बढ्दो बजारमा प्रवेश गर्छन्। बजार बढेपछि विभिन्न निकायबाट वक्तव्यबाजी तथा सूचना आउने गर्छ। त्यस्ता सूचना ठूला तथा पहँुचवाला लगानीकर्ताले पहिले नै प्राप्त गर्ने र बढेको बजारमा आफ्नो सेयर बेच्ने गर्छन्। तिनै सेयर नयाँ तथा साना लगानीकर्ताले किनिरहेका हुन्छन्। जब बजारलाई प्रभावित पार्ने सूचना आउँछ तब बजार घट्न थाल्छ। बजार घट्दा नयाँ तथा साना लगानीकर्ताले धैर्यता राख्न नसक्दा घाटामा बेच्ने र पहिले बेचिसकेको खेलाडीहरुले पुनः त्यही सेयर खरिद गर्ने र पछि बजार माथि लाने गर्छन्। यसले कसरी साना लगानीकर्ताको लगानी सुरक्षित हुन्छ ? हिजो बजारले साना लगानीकर्ता पेनिक हुँदा घाटामा सेयर बेचेका छन् भने बजार बढेको बेला बेच्नेले खरिद गरेका छन्। यहाँ पनि साना लगानीकर्ता नै मार परेकोजस्तो देखिन्छ। 

साना तथा नयाँ लगानीकर्ताले बुझ्नुपर्ने कुरा 

सेयर बजार जोसुकै पनि काम गर्न पाउने र गर्ने सक्ने क्षेत्र हो। सामान्य पढेलेखेकादेखि यसैमा पीएचडी गरेकासम्मले आफ्नो क्षमता बढाउन सक्छ। यस क्षेत्रमा हेर्दा लामो समय सक्रिय रुपमा अनुभव सँगालेका सबैजसो व्यक्तिले कमाएको नै पाइन्छ। यो पौडी सिकेकोजस्तो नै। पौडी सिक्न कुनै डिग्रीको आवश्यक पर्दैन। पोखरीमा हामफाले दुई–चारपटक पानी त खाइन्छ नै। 

सेयर बजारबारे जान्न दोस्रो बजार आउनु नै पर्छ। तर, पौडी सिक्दा सुरुमा कम्मर–कम्मरको पानीमा पौडी सिकेजस्तै सानो लगानीबाट बजार प्रवेश गर्नुपर्छ। जानकारी हुँदै गएपछि आत्मविश्वास पनि बढ्दै जान्छ। लगानीको अवसर, कम्पनी छनौट तथा बयरिस र बुलिसका कुरा पनि अवगत हुँदै जान्छ। जसले गर्दा रिस्क म्यानेजमेन्टको क्षमता पनि बढ्दै जान्छ। 

अहिले धमाधम विभिन्न कम्पनीको आईपीओहरु खुलिराखेको अवस्था छ। साना लगानीकर्ताले आईपीओमा परेका राम्रा कम्पनीका सेयर बजारमा अहिले नै बेच्नुभन्दा पनि दीर्घकालीन लगानीमा जोड दिए भविष्यमा निकै राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ। अहिले बेच्दा बजारमा १ हजार रुपैयाँ पुँजीको १० हजार रुपैयाँ आउन सक्छ।  तर बेच्दा त्यो १० हजार रुपैयाँले केही आउँदैन। त्यो पैसा थाहा नै नपाई मासिन सक्छ। फेरि त्यो राम्रो कम्पनी किन्न पनि सकिँदैन। आज जसले नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा परेको सेयर राख्न सकेको छ, उसले राम्रो प्रतिफल प्राप्त गरेको छ। 

अन्तमा 

सरकार तथा सेयर बजार निकायहरुले बजार प्रभाव पार्नेभन्दा पनि बजारको सुधारका लागि दिगो र दीर्घकालीन नीति निर्माणमा लाग्नुपर्छ। व्यक्तिपिच्छे आउने अस्थिर नीति–नियमले सेयर बजारप्रति आमलगानीकर्ताको विश्वास गुम्ने, ठूला लगानीकर्ता बजारबाट पलायन हुने र ठूला आयोजना लागि लगानीको वातावण बिग्रने हुँदा यस विषयमा सरकार अझ सचेत हुनुपर्ने देखिन्छ। 

बजार आफ्नै लयमा हिँड्दा आउने उतार–चढावले लगानीकर्ता ठूलो जोखिममा पनि नपार्न सक्छ। भारत, अमेरिकालगायत धेरै मुलकका अर्बपतिहरु सेयर बजारबाटै उकासिएका हुन्। अझ नेपालमा सेयर बजारजस्तो अन्य क्षेत्र पारदर्शी नहुने हुँदा अर्बपतिले पनि आफूलाई अर्बपति घोषणा गर्न त्यति सहज छैन। तर सेयर बजारका लगानीकर्तालाई त्यो सहज छ। एक व्यक्ति अर्बपति बन्दा उसले सरकारलाई कति तिर्छ होला, कुरोको चुरो बुझ्नेले बुझेन भने कसको के लाग्छ ? यहाँ त आपूmले कमाउन नसके अरुलाई पनि कमाउन दिनुहँुदै भन्ने नियत नियामक निकायकै पदाधिकारीहरुको देखिन्छ। तर, जसले उचित समयमा बुझेर लगानी गर्छ, उसले राम्रो कमाउँछ भन्नेमा दुईमत छैन।