काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्। 

मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाट्न समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। उनले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गरे। 

ढकालले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए। उनले नेपालमा टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको बताए। 

ढकालले नेपाले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्था रहेको बताए। उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए। ‘नेपाल आईटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको छ। कतिपय प्रोडक्टहरु नेपाली प्रोडेक्टहरु जो नेपाली आइटी इन्जिनियरहरुले तयार गरेको सफ्टेवेयर, डिजिटलाइज गर्ने कुराहरुले हामी विश्वको कुनैपनि विदेशी आईटी कम्पनीको तुलनामा नेपालको आईटी प्रोफेसनलहरु कमी छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘हाम्रो जीवनमा आउनेसक्ने टेक्नोलोजीको हिसावले कताकता हामी नेपाली टेक्नोलोजीलाई अहिले प्रायोरिटि नदिएको हो कि भन्ने मलाई लाग्छ। नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिनसक्ने भन्ने किसिमको नीति रहेको छ। त्यहीअनुरुप सरकारले टेक्नोलोजी उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ। सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर टेक्नोलोजीलाई हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन।’

ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए।