काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले झन्डै पौन २ अर्ब रुपैयाँ बढीको विद्युत भारततर्फ निर्यात गरेको छ। 

नेपाल विद्युत प्राधिकरणका अनुसार साउनमा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत भारत निर्यात भएको हो। देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले बिजुी निर्यातबाट साउनमा मात्रै औसत दैनिक ५ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ। 

ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत भारततर्फ निर्यात भइरहेको छ।

प्राधिकरणले गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिजुली बिक्री सुरु गरेको थियो। सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो। 

गत जेठ २७ गतेबाट दैनिक रुपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ। 

गत आर्थिक वर्ष २०७८/७९मा प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत भारतमा निर्यात गरेको थियो। 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बर्खायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ। प्राधिकरणले ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो। केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुनेछ।