काठमाण्डौ । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ। 

नबिल फोनलोन–क्यूआर मर्चेन्ट नामको सेवाको सुरुआतसँगै क्यूआर मर्चेन्टले घरमा बसी–बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन्। 

नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यो सुविधा ल्याएको हो। यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनुपर्नेछ। 

त्यसका साथसाथै अघिल्लो महिनामा ५ वटा क्यूआर कारोबारबाट रु. १० हजारबराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो ४ हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ। ‘यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो। हामीले कुनै धितो बिना नै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलोपटक यो सुविधा ल्याएका हौँ’, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन्। 

ढुंगाले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए। 

सुरुआती चरणमा व्यवसायीहरुले रु. १ लाखसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन्। यस सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए। यसभन्दा अघि नबिल बैंकले पहिलोपटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो।