– अनन्त्य सुन्दर

काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७४ स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सूचना प्रकाशित गर्दै लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको छ। 

सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जका लागि ४५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। सेबोनको एउटा स्टक एक्सचेन्ज र दुईवटा कमोडिटिज एक्सचेन्जको लाइसेन्स दिने तयारी रहेको छ।

नेपालमा अहिले कमोडिटिज एक्सचेन्जको आवश्यकता भएको तर दोस्रो स्टक एक्सचेन्जको आवश्यकता नभएको प्रतिपक्षी दलका नेताहरुले बताउँदै आएका छन्। प्रतिपक्षी दल एमालेका नेता तथा अर्थसमितिका सभापतिसमेत रहेका सांसद कृष्णप्रसाद दाहालले केही दिनअघि प्रतिनिधिसभा बैठकमा नै कमिसनको खेलमा अर्को स्टक एक्सचेन्ज ल्याउन लागिएको उल्लेख गर्दै सरकारलाई अर्को स्टक एक्सचेन्ज ल्याउन लागेको हो भने रोक्न समेत आग्रह गरेका थिए। 

सेबोनले भने रातारात नियमावली संशोधन गरी मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत पनि गराएर नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाएको छ।

पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा नेपालजस्तो मुलुकमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताउँछन्। ‘मैले त अहिले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नै देखेको छैन’, बिजशालासँगको कुराकानीमा खतिवडा भन्छन्, ‘लाइसेन्स दिन्छन्, पैसा खान्छन्, त्यस्तै हो। अहिलेको जे–जेको लाइसेन्स दिन मिल्छ, त्यो सबै दिने देखिन्छ।’

मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत उक्त नियमावली अनुसार नयाँ खुल्ने स्टक एक्सचेन्जको चुक्तापुँजी ३ अर्ब हुनुपर्ने उल्लेख छ। संशोधित नियमावलीअनुसार निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेन्ज खोल्न पाउनेछन्।