काठमाण्डौ । विश्वमा हरक्षण प्रविधिले फड्को मारिरहेका बेला नेपालमा पनि ऊर्जा र खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै प्रविधिमार्फत थप परिस्कृत गर्नका लागि एक कार्यशाला गोष्ठी आयोजना हुने भएको छ।

सहरी सेवा प्रबन्धका चुनौतीहरुलाई ध्यानमा राख्दै जीएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज र घामपावरको सहकार्यमा ‘नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवा  स्तरीकरण’ विषयक कार्याक्रम आगामी माघ २४ गते हुन लागेको हो। 

विगत केही दशकमा नेपालमा पनि तीब्र सहरीकरणको अनुभव गरिरहका बेला यसका नकारात्मक प्रभावका रुपमा खानेपानी र ऊर्जाजस्ता अत्यावश्यक सेवाप्रवाहमा विभिन्न खालका अवरोध सिर्जना भएका छन्। फलस्वरुप सहरी योजना र सेवा विस्तारका लागि चुनौती थपिएका छन्। 

युनिसेफ तथा डब्ल्यूएचओका अनुसार नेपालको सहरी जनसंख्याको २५ प्रतिशतमा मात्र सुरक्षित रुपमा व्यवस्थित खानेपानी सेवामा पहुँच पुगेको छ। नेपालको ९४ प्रतिशत सहरी जनसंख्याको बिजुलीमा पहुँच छ भने ७२ प्रतिशत जनसंख्यामा मात्र भरपर्दो, किफायती र निर्वाध बिजुलीको पहुँचमा रहेको तथ्यांक छ। 

विश्व बैंकको उद्यम सर्वेक्षणअनुसार नेपालका दुई तिहाइ व्यावसायिक संस्थाहरुले विद्युतको अव्यवस्थालाई व्यवसाय विस्तारमा मुख्य बाधाका रुपमा पहिचान गरेका छन्।

देशको ऊर्जा क्षेत्र पनि सहरी क्षेत्रमा बढ्दो मागलाई समायोजन गरी दिगो, भरपर्दो र किफायती सेवाप्रवाहका लागि संघर्ष गरिरहेको अवस्था छ।

जीएसएमए डिजिटल उपयोगिता कार्यक्रमको उद्देश्य आधुनिक प्रविधि र नवीन साझेदारीमार्फत किफायती, भरपर्दो, सुरक्षित र दिगो रुपमा ऊर्जा, खानेपानी, सरसफाइ, फोहोर व्यवस्थापन र यातायातजस्ता सहरी उपयोगिता सेवाहरु जनताको पहुँचमा पुर्याउनु हो। यसले न्यून र मध्यम आय भएका देशमा सहरहरुलाई जनसंख्या वृद्धि, जलवायु परिवर्तन र असमानतासम्बन्धी चुनौतीहरुको सामना गर्न सहयोग गर्दछ।

कार्यक्रममा सार्वजनिक र निजी क्षेत्रका प्रमुख सरोकारवालाहरुका साथै लगानीकर्ताहरु र संस्थाहरुलाई आधुनिक प्रविधि र नवीन साझेदारीहरुमार्फत सहरी सेवा प्रवाहमा स्तरीकरण गर्न सक्षम बनाउनेछ।

यसअघि लागोस, किगाली र इस्लामाबादमा सम्पन्न यस्तै प्रकारका कार्यक्रमहरु फलदायी भएको महसुस गरिएको आयोजकको भनाइ छ। यसले निजी क्षेत्र र सार्वजनिक क्षेत्रहरुबीच दिगो साझेदारीका लागि मार्गहरु प्रदान गरेको छ। 

यस कार्यशाला सहरी ऊर्जा र खानेपानी सेवामा सर्वसाधारणको पहुँचलाई किफायती, भरपर्दो, सुरक्षित र दिगो बनाउने चुनौतीहरुमा केन्द्रित रहनेछ।

कार्यशालामा नेपालमा सहरी ऊर्जा र खानेपानकिो सेवाप्रवाहमा वर्तमान चुनौतीहरु बुझ्न, सस्तो र पहुँचयोग्य ऊर्जा तथा  सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालाहरुसँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्रहरु पहिचान गर्न, पहुँचयोग्य र किफायती ऊर्जा र सुरक्षित खानेपानीका लागि यस क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरुको विचार र दृष्टिकोण साझा गर्न तथा  कम र मध्यम आय भएका देशहरुमा उत्कृष्ट अभ्यासहरु र अनुभवबाट खानेपानी र ऊर्जामा सार्वजनिक तथा निजी साझेदारीलाई स्पष्ट बनाउने विषयमा केन्द्रित हुनेछ। 

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका २० भन्दा बढीढ वरिष्ठ सरकारी अधिकारीहरु, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्थाहरु र जीएसएमएले सहयोग गरेका संस्थाहरु सहभागी हुनेछन्। यसमा दियालो टेक्नोलोजिज, घामपावर तथा इसेवा,  जियो कृषि र प्राक्टिकल एक्सन आदि संस्थाहरुको सहभागिता रहनेछ। कार्यक्रम बन्दसत्र प्रकृतिको रहनेछ र यसमा सहरी परिवेशमा खानेपानीको र ऊर्जा सेवाका लागि नवीन प्रविधिको प्रयोग तथा साझेदारीको भूमिकामा छलफल गर्न प्रमुख सरोकारवालाहरुसँग गोलमेच सभा तथा प्यानल छलफल हुनेछ।

यस कार्यशालामार्फत जीएसएमए डजिटल उपयोगिता टोली र यसका साझेदारहरु, दियालो टेक्नोलोजिज र घाम पावरमार्फत सहरी क्षेत्रमा ऊर्जा र खानेपानी सेवाहरु स्तरीकरण गर्न डिजिटल समाधान र साझेदारीको सम्भावनाका बारेमा चेतना जगाउने आशा राखिएको छ। 

यसका साथै यस कार्यक्रमले नेपाल र बृहत्तर क्षेत्रमा नवीन प्रयोगहरु तथा सेवा वितरणका मोडेलहरु चलाउन सक्ने संस्थाहरु, सरकार, निजी क्षेत्र र सम्बन्धित संस्थाहरुबीच सान्दर्भिक साझेदारीका लागि साझा मञ्च सिर्जना गर्ने आशा पनि गरिएको छ।