काठमाण्डौ । पछिल्लो तथ्यांकअनुसार धितोपत्र दोस्रो बजारमा १७.७७ प्रतिशत लगानीकर्ताले अनलाइन प्रणालीबाट सेयर कारोबार गर्ने गरेको देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हिजो आइतबार प्रकाशित गरेको सूचनाअनुसार नेपालभर अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेहरु ४७ हजार २६ जना रहेका छन्। जब कि सक्रिय कारोबारी २ लाख ६४ हजार ६३३ जना रहेको नेप्सेले जनाएको छ। 

पछिल्लो समय अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या पनि बढ्दै गएको छ। नेप्सेले २० दिनअघि सार्वजनिक गरेको सूचनाअनुसार अनलाइन प्रणालीबाट कारोबार गर्नेको संख्या ३३ हजार ४२९ रहेको थियो। हिजो प्रकाशित सूचनाअनुसार यो संख्या ४७ हजार २६ पुगेको छ। अर्थात् यो अवधिमा मात्रै अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेहरु १३ हजार ५९७ जनाले बढेका छन्। 

पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै सानी सेक्युरिटिज कम्पनी लिमिटेडबाट ३ हजार २३९ जनाले अनलाइन प्रणालीबाट सेयर कारोबार गर्छन्। त्यहाँबाट ९ हजार ७९२ जना सक्रिय कारोबारीले धितोपत्र दोस्रो बजारमा सेयर खरिदबिक्री गरिरहेका छन्।

यसैगरी नासा सेक्युरिटिज कम्पनी लिमिटेडबाट २ हजार ८८४ जना र भिजन सेक्युरिटिज प्रालिबाट २ हजार ७७९ जनाले अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन्। 

सबैभन्दा कम सगरमाथा सेक्युरिटिज प्रालिबाट १३८ जनाले अनलाइन प्रणालीबाट सेयर कारोबार गरिरहेका छन्।