काठमाण्डौ । नेपालको अर्थतन्त्र मापनको ‘आधार वर्ष’ परिवर्तन गरेको छ। 

केन्द्रीय तथ्यांक विभागले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को वार्षिक मापनको आधार वर्ष परिवर्तन गरेको हो। अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै आएको र परिवेश पनि फेरिएको भन्दै विभागले सन् २०१०/११ लाई नयाँ आधार वर्ष निर्धारण गरिएको जनाएको छ।

अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन गरिएको विभागको भनाइ छ। यो नेपालको इतिहसमा पाँचौं आधार वर्ष हो।

हालसम्म आर्थिक वर्ष सन् २०००/०१ को मूल्यमा जीडीपी मापन हुँदै आएको थियो। २० वर्ष पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएकोले आधार वर्ष परिवर्तन गरिएको विभागले जनाएको छ।

नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार पनि केही बढ्ने विभागले अनुमान गरेको छ। 

यसैबीच नयाँ आधार वर्षबमोजिम आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ। विभागका अनुसार गत आवमा वार्षिक आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो। यो वर्ष प्रतिव्यक्ति आय ११३४ अमेरिकी डलर रहेको विभागले जनाएको छ। 

सरकारले चालु आर्थिक वर्षको बजेटमा भाषणमा २.२७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान थियो। तर चालु आवको पहिलो त्रैमासको वृद्धिदरसमेत ४.६ प्रतिशतले ऋणात्मक देखिएको छ।