काठमाण्डौ । कोरोनाको दोश्रो लहर नेपालमा भयावह बन्दै गएको तथ्य सार्वजनिक भएको छ । 

स्वास्थ्य मन्त्रालयअन्तरगत रहेका विज्ञहरुको टोलीले गरेको एक अध्ययनको क्रममा यस्तो नतिजा देखिएको हो । 

सामान्यतया कोरोनाको टेस्ट पोजिटिभदर ५ प्रतिशतभन्दा मुनि हुनुपर्नेमा नेपालका विभिन्न प्रदेशमा यो दर अत्यधिक माथि रहेकोमा जनस्वास्थ्यविदले चिन्ता व्यक्त गरेका छन् । 

इपिडियोमोलोजिष्ट डा. विराजमान कर्माचार्यले स्वास्थ्य मन्त्रालयको नियमित प्रेस अपडेटमा अध्ययनको निश्कर्ष प्रस्तुत गर्दै केही प्रदेशमा कोरोना संक्रमण भयावह बनेको तथ्य भेटिएको बताएका हुन् । 

उनकाअनुसार कोभिड १९ टेस्ट पोजिटिभ देखिने दर सबैभन्दा बढी कर्णाली प्रदेशमा रहेको छ । जहाँ यस्तो दर ६७.९ प्रतिशत पुगिसकेको छ । 

यस्तो दर लुम्बिनी प्रदेशमा ६१.३ प्रतिशत, सुदुरपश्चिममा ३७ प्रतिशत, प्रदेश २ मा ३५.७ प्रतिशत, गण्डकी प्रदेशमा ३२.८ प्रतिशत, बागमतिमा २५.९ प्रतिशत र प्रदेश १ मा २३.५ प्रतिशत रहेको छ । 

'टेस्ट पोजिटिदर ५ प्रतिशतमुनि हुनुपर्ने हो, तर नेपालको अवस्था निकै भयावह देखियो, यसको अर्थ अहिलेभन्दा निकै गुणा ज्यादा संक्रमित समुदायमा छन् भन्ने हो ।' डा. कर्माचार्यले भने-'यो भनेको निकै गम्भीर अवस्था हो ।' 

डा. कर्माचार्य नेतृत्वको टोलीले संक्रमितको बढ्दो संख्या, कोभिड फैलिने दर लगायतका विषयमा एक साताको तथ्यमा आधारित रहेर समेत रिसर्च गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी २३३ प्रतिशतले संक्रमितको संख्या बढेको देखिएको छ । यस्तै, कर्णालीमा २१६ प्रतिशत, सुदुरपश्चिम १८४, गण्डकीमा १०९, बागमतिमा १८३ प्रतिशत, प्रदेश १ मा १७४ प्रतिशत, प्रदेश २ मा १११ प्रतिशतले संक्रमितको संख्या बढेको देखिएको डा. कर्माचार्यले जानकारी दिए । 

यस्तै, विज्ञहरुले कोभिड १९ कत्तिको चाँडै फैलिएको छ भन्ने कुराको पनि अध्ययन गरेको थियो । यो भनेको एउटा कोभिड संक्रमितले सरदर अरु कतिलाई संक्रमित बनाइरहेको छ भन्ने कुराको अध्ययन हो । 

यो दर लुम्बिनी, कर्णाली र बागमति प्रदेशमा धेरै देखिएको छ । लुम्बिनीमा एक संक्रमितले सरदर २.९ जनालाई, कर्णालीमा २.४ जनालाई र बागमतिमा २.१ जना तथा प्रदेश १ मा २ जनालाई संक्रमण गराइरहेको देखिएको छ । 

डा. कर्माचार्य कोभिड संक्रमण भयावह बन्दै गएको उल्लेख गर्दै अझै पनि सचेत हुने हो भने क्षति कम गर्न सकिने बताउँछन् । 'अझै पनि हामी सबैले आफ्नो क्षेत्रबाट लाग्ने हो भने हजारौंको ज्यान जोगाउन सकिन्छ ।' उनले थपे-'यसो नगरे आउने दिनमा प्रतिदिन १४९ जनासम्मको मृत्यु हुनसक्ने एक अमेरिकी रिसर्च संस्थाले प्रक्षेपण गरिसकेको छ, जुन अहिलेको अवस्था हेर्दा यथार्थमा परिणत हुने खतरा बढ्दैछ ।' 

उनले निषेधाज्ञाले अहिलेको संक्रमणको गतिलाई केही हदसम्म भए पनि कम गर्न सहयोग गर्ने उल्लेख गर्दै अत्यावश्यक काम नपरेसम्म घरबाहिर ननिस्किन आह्वान गरेका छन् । कोभिड लक्षण देखिएमा तुरुन्तै आइसोलेसनमा बस्न र कोभिडको परीक्षण गराइहाल्न समेत उनले सुझाव दिएका छन् ।