काठमाण्डौ । नेपालमा मेडिकल काउन्सिल(एनएमसी)ले कोभिड १९ का बिरामीलाई हुँदै आएको उपचारमा नयाँ गाइडलाइन जारी गर्दै प्लाज्मा थेरापीबाट  हुने उपचार प्रभावहीन देखिएको भनेको छ । 

मेडिकल काउन्सिलबाट लाइसेन्सप्राप्त चिकित्सकहरुलाई गाइडलाइन्स जारी गर्दै एनएमसीले यस्तो आग्रह गरेको हो । 

भारतमा समेत प्लाज्मा थेरापी विधिबाट कोभिडका बिरामीको उपचारबाट प्रतिफल प्राप्त भएको प्रमाणित नभएको उल्लेख गर्दै हिजोदेखि यो विधिलाई नपछ्याउन भनिएको छ । यही सेरोफेरोमा एनएमसीले पनि नयाँ गाइडलाइनबाट प्लाज्मा थेरापीलाई प्राथमिकतामा नराख्न र यो विधिबाट उपचार नगर्न भनेको हो । 

एनएमसीले प्रष्ट रुपमा हस्पिटलमा भर्ना भइसकेका बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार नगर्न भनेको छ । प्लाज्मा थेरापीबाट उपचारकै कारण कोभिड १९ को संक्रमण ठीक भएको हालसम्म पर्याप्त प्रमाण तथा तथ्यहरु नरहेको एनएमसीको प्रष्टीकरण छ । 

एनएमसीले कोभिडका गम्भीर बिरामीलाई दिइने गरिएको रेम्डेसिभिर औषधि प्रयोगका लागि समेत गाइडलाइन जारी गरेको छ । कोभिडले गम्भीर बिरामी परेका बिरामीलाई लक्षण सुरु भएको १० दिनभित्रै रेम्डेसिभिर दिनसकिने गाइडलाइनमा उल्लेख छ । 

यस्तै, एन्टीभाइरल औषधिले मृत्युदर नघटाएको देखिएको उल्लेख गर्दै यस्ता औषधिको प्रयोगले अस्पताल बस्ने अवधि मात्रै घटाउने गरेको भनिएको छ । 

भेन्टिलेटरमा पुगिसकेका कोभिड बिरामीलाई रेम्डेसिभिरको प्रयोग प्रभावहीन देखिएको समेत गाइडलाइनमा उल्लेख छ । 

अक्सिजन स्याचूरेसनको लेभल ९० प्रतिशतभन्दा कम भएमा मात्र अक्सिजन सामान्य सपोर्ट सुरु गर्न समेत एनएमसीले भनेको छ । तर, फोक्सोको गम्भीर समस्या भएका बिरामीका लागि भने अक्सिजनको लेभल ८८ प्रतिशतभन्दा कम भएपछि अक्सिजनको सप्लीमेन्ट सुरु गर्नुपर्ने सुझाइएको छ ।