काठमाण्डौ । नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ‘नेसनल स्टन्ट ब्याटल २०१६’ हुने भएको छ । 

नेपाल मोटरसाइकल फेडरेसन क्लब(एनएमएफसी) र नेपाल कल्चरल एण्ड एड्भेञ्चर इभेन्ट्स(एनसीए इभेन्ट्स)को संयुक्त आयोजनामा आगामी मंसिर पहिलो साता सो प्रतियोगिता हुने भएको हो । 

प्रतिस्पर्धामा समूहगततर्फ ५ र ब्यक्तिगत तर्फ १० जनाको छुट्टाछुट्टै स्टन्ट प्रस्तुति रहनेछ । यसमा राइडरहरुले स्टन्ट मात्र नभई आफ्नो प्राविधिक कौशल समेत प्रदर्शन गर्ने छन् । 

मोटरसाइकलमा स्टन्ट गर्नु र यस्तो प्राविधिक कौशलता प्रस्तुत गर्न पाउनु धेरै युवाहरुको चाहना र सपना रहेको पाइन्छ । यस प्रकारका प्रतिस्पर्धाले उनीहरुलाई यस्तो अवसर दिन्छ । भविष्यमा यस्ता खालका प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिताका लागि उपयोगी हुनसक्छ । एनएमएफसीले प्रतियोगिताका विजेताहरुका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत सहभागिताका लागि पहल गर्न भूमिका खेल्ने छ ।

यो भन्दा पहिले रेसमान्डु र क्रसमान्डु जस्ता ठुला मोटरसाइकल स्पोर्ट्स समेत सफलतापूर्वक सम्पन्न गरिसकेको फेडरेसनले एनसीए इभेन्ट्सको सहकार्यमा हुने यो कार्यक्रम पनि भव्य रुपमा सम्पन्न हुने लक्ष्य राखेको छ । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को समेत साथ छ । 

प्रतियोगिताका विजेताहरुलाई शिल्ड, मेडल तथा नगद पुरस्कार समेत प्रदान गरिने छ ।