काठमाण्डौ । नेपालको सन्दर्भमा साना तथा मझौला उद्यमीहरुले लक्ष्यअनुसारको सफल व्यवसाय सञ्चालन गर्नका लागि धेरै खालका समस्याहरु भोगिरहेका छन्। जसमध्ये व्यवहारिक र प्रभावकारी व्यावसायिक योजना निर्माण नहुनु पनि एक महत्वपूर्ण समस्याका रुपमा रहेको छ। 

व्यावसायिक योजना निर्माणका लागि स्रोतसाधनको अभाव तथा सूचनाको कमी, समय बढी लाग्ने, बैंक तथा वित्तीय संस्थाहरुले तोकेको ढाँचामा व्यावसायिक योजना तयार गर्न नसक्दा धेरैजसो व्यवसायीले लगानीअनुरुपको प्रतिफल प्राप्त गर्न सकेका छैनन्। साथै, सरकारले प्रावधान गरेका विभिन्न सेवा तथा सुविधाबाट पनि वन्चित छन्। 

व्यवसायीका यिनै समस्या तथा आवश्यकतालाई मध्यनजर गरी निड्स नेपाल प्रालिले डिजिटल प्रविधिमार्फत छिटोछरितो रुपमा व्यावसायिक योजना निर्माण गर्न बिजसूत्र नामक मोबाइल एप तयार गरी बजारमा ल्याएको छ। यो एप स्मार्ट मोबाइल फोनमा प्लेस्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। जसको प्रयोग गरी उद्यमको आकार हेरी आधादेखि दुई घन्टाभित्रमा व्यावसायिक योजना तुरुन्तै निर्माण गर्न सकिन्छ। 

यस मोबाइल एपको प्रयोगबाट आफूले सञ्चालन गर्न चाहेको नयाँ व्यवसाय वा सञ्चालन भइराखेको व्यवसायकोे तथ्यांक तथा सूचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गरी तिनै तथ्यांक तथा सूचनाहरुको विश्लेषणका आधारमा एपमार्फत नै विशिष्ठ ढाँचामा व्यावसायिक योजना स्वतः निर्माण हुन्छ। जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तीय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतीहरुजस्ता महत्वपूर्ण पक्षहरु समेटिएका छन्। 

यसरी मोबाइल एपबाट प्रविष्ट गरिएका तथ्यांक तथा सूचनाहरुलाई निड्स नेपालको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ। जुन सूचनाहरुलाई भविष्यमा आवश्यकताअनुसार व्यवसायको तुलना गर्न तथा पुनरावलोकनका लागि प्रयोगमा ल्याउन सकिन्छ।

यो मोबाइल एप नेपाली भाषामा तयार गरिएकोले प्रयोग गर्न सजिलो छ भने व्यावसायिक  योजना निर्माण गर्ने विज्ञहरुको प्रत्यक्ष संलग्नतामा तयार गरिएकोे एप दर्जनौँ उद्यमीहरुले प्रयोग तथा परीक्षण गरी अत्यन्तै रुचाइएको र माग पनि बढ्दै गइरहेको कम्पनीले जनाएको छ। 

बिजसूत्र मोबाइल एपको प्रयोग गरी सरल र सहज रुपमा कम समय र लागतमा व्यावसायिक योजना तयार गर्न सकिने कम्पनीको दाबी छ। यस्ता व्यावसायिक योजनाले बैंक तथा वित्तीय संस्थाहरुले तोकेको ढाँचालाई समेत समेटेको कम्पनीको भनाइ छ। 

अब व्यावसायिक  योजना निर्माण गर्न लामो समय लाग्ने, बढी पैसा तिर्नुपर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमीहरुमात्र नभएर व्यवसायमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरु, उद्यमी विकासका लागि सहयोग गर्ने विभिन्न सहयोगी संघसंस्थाहरु, परियोजना, सरकारी तथा गैरसरकारी संस्थाहरुलाई पनि लाभ पुग्ने कुरा निड्स नेपालका अध्यक्ष सगुन पुडासैनीले बताए। 

यसका साथै निड्स नेपालले साना तथा मझौला उद्यमहरुको व्यवसाय प्रवद्र्धन र विस्तारका लागि व्यवसायीहरुको क्षमता अभिवृद्धि गरी उत्पादन लागत घटाई उनीहरुको दिगो विकासमा सहयोग पुर्ेयाउन उद्यम विकास सेवाहरु प्रदान गर्दै आएको छ। व्यावसायिक योजना निर्माण, व्यवसाय दर्ता तथा नवीकरण, लेखापरीक्षण, उद्यमशिलता विकास तालिम, बजारीकरण, बैंक तथा वित्तीय संस्थाबाट वित्तीय सेवाका लागि सहजीकरण, व्यवसायको सम्भाव्यता अध्ययन, व्यावसायिक स्वास्थ्य जाँच, उद्यमको प्रत्यक्ष अवलोकन तथा परामर्श, स्थानीय सरकारको कृषि उद्यम विकास केन्द्रीत योजना निर्माण, उनीहरुको उद्यमहरुको प्रस्तावना तथा व्यासवसायिक योजना निर्माण र मूल्यांकन गर्न प्रविधिक सेवाहरु पनि प्रदान गर्दछ।