काठमाण्डौ । नेपालले पाउँदै आएको औपचारिक विकास सहायता (ओडीए) बढेको देखिएको छ। 

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार यस्तो सहायता २१.२ प्रतिशतले बढेको छ। सन् २०१९/२० मा ओडीएबापत २ खर्ब ३९ अर्ब ३७ करोड ६३ लाख २६ हजार ७०० रुपैयाँ प्राप्त भएको छ। जब कि यस्तो सहायता अघिल्लो वर्ष (सन २०१८/१९) मा १ खर्ब ८८ लाख ५८ हजार बढी नेपालले पाएको थियो।

यही अवधिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले दिने विकास सहायता भने घटेको छ। आईएनजीओले १ अर्ब ५७ करोड ५१ लाख सहायता गरेको छ। जुन अघिल्लो वर्ष २ अर्ब ५७ करोड ५४ लाख १६ हजार ७९५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार दिइएको सहायतामा ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहायता छ। 

स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी औपचारिक विकास सहायता प्राप्त भएको छ। कुल ओडीएको १६.१ प्रतिशत स्वास्थ्य क्षेत्रले पाएको छ। जुन ३ अर्ब ८० करोड ९९ लाख रुपैयाँ हो। 

वित्तीय क्षेत्र सुधारका लागि ११ प्रतिशत, हाउजिङ क्षेत्रका लागि ७.७ प्रतिशत, उर्जाको लागि ७.२ प्रतिशत, सडक यातायातका लागि ७ प्रतिशत सहायता प्राप्त भएको छ। आर्थिक वर्ष २०१९/२० मा ओडीएको भोल्यूम सकारात्मक देखिएको छ। 

यस्तो रकम समीक्षा अवधिमा १९ अर्ब ९९ करोड २६ ला रुपैयाँ बजेटमार्फत गएको छ। २०१८/१९ मा बजेट फन्डिङ ७८.४ प्रतिशत थियो। बजेटरी सहायतामा परिवर्तन आएको छ। कुल ओडीए बजेटरी सहायता ३६.९ प्रतिशत पुगेको छ। सन् २०१८/१९ मा १५.२ प्रतिशत थियो।

प्रतिवेदनमा कोभिड १९ भन्दा पछिको सहायता मूल्यांकन गरिएको छैन।