काठमाण्डौ । नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ। 

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो।

यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न स्वीकृति दिइएको थियो। योसँगै नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न प्रवेश पाउने भएको छ। यस कार्यका लागि भारत सरकार र सम्बद्ध सबै निकायहरुलाई ऊर्जा मन्त्रालयले धन्यवाद दिएको छ। 

मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको जनाइएको छ।

यसबाट वर्षा याममा उत्पादित विद्युत् मुलुकभित्र खपत गरी अतिरिक्त विद्युतको निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयले जनाएको छ।