काठमाण्डौ । विश्वमै तहल्का मच्चाएको सुजुकीको प्रिमियम ह्याचब्याक कार बलेनो नेपाली बजारमा भित्रिएको छ ।
सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले नेपाली ग्राहकका लागि बलेनोलाई कम्पनीको प्रिमियम च्यानल 
CG I NXT GEN मार्फत उपलब्ध गराइने बताएको छ । 

कम्पनीका अनुसार बलेनो कारको सुरुवाती मूल्य २६ लाख ९९ हजार रुपैयाँ छ । देशभरिका सुजुकीका आउटलेटमा बलेनोको बुकिङ खुल्ला गरिएको र ग्राहकले फाइनान्सका लागि विशेष व्याजदारको लाभ समेत उठाउन सक्नेछन् । 

यसको १.२ लिटर भीभीटी पेट्रोल इन्जिनले ८४.३ पीएस अधिक पावर र ११५ एनएम टर्क उत्सर्जन गर्छ । यसले २१.४ किमि माइलेज दिने कम्पनीको भनाई छ । ५–स्पिड म्यानुअल गियरबक्स भएको यो कारको क्याबिन ठूलो हुनुका साथै पछाडिको सिट पनि स्पेसियस रहेको बताइएको छ ।

कम्पनीका अनुसार बलेनो यसको उच्चतम सवारी क्षमता, सुरक्षा, इन्धन क्षमता र कम ध्वनि प्रदुषणका लागि अन्य कार भन्दा विशेष बनेको छ । बलेनोमा क्लाइमेट कन्ट्रोल, स्याटेलाइट नेभिगेसनसहितको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कीलेस इन्ट्री, पुस स्टार्टरस्टप बटन, एबीएस, इबीडी र एयरब्याग्स आदि फिचर छन् । पार्किङका लागि क्यामरा र स्टेयरिङ ह्विलबाटै धेरै कुरा नियन्त्रण गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

सिजि मोटोकर्पका प्रवन्ध निर्देशक करन कुमार चौधरीका अनुसार भारतमा यसको व्यापक सफलतापछि नेपालमा बलेनो लञ्च गरिएको हो । ग्लोबल मोडलको रुपमा स्थापित सुजुकीको अन्य उत्पादन भन्दा बोलेनोमा परिष्कृत डिजाइन र उन्नत प्रविधि रहेको छ । यसमा उच्चतम इन्धन क्षमता रहेको र समग्रमा धेरै राम्रा विशेषता भएका कारण ग्राहकहरुको ध्यान तान्ने चौधरीको विश्वास छ । 

‘हामी यसलाई कम्पनीको प्रिमियम च्यानल CG I NXT GEN मार्फत् उपलब्ध गराउने छौं।’ चौधरीले भने–‘हामीले यो च्यानलबाट विश्वस्तरीय बिक्री सेवाका साथ प्रिमियम सुजुकी प्रडक्ट प्रदान गर्ने लक्ष्य लिएका छौं।’