काठमाण्डौ । नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजीविकास कोष (यूएनसीडीएफ) र एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रुपमा आयोजना गरेको फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । 

खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरु उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् ।

उक्त फन्ड जितेपछि खल्तीले महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुलाई व्यवसाय वृद्धी र बजार विस्तारका लागि सहयोग गर्न एक विशेष कार्यक्रम ल्याउने भएको छ । 

खल्तीले उक्त कार्यक्रम कार्यान्वयन गर्न ३५०० महिला आबद्ध भएको सञ्जाल सार्क बिजनेश एशोसिएशन अफ होम बेस्ड वर्कर्स (सबह) नेपाल सँग सहकार्य गर्ने भएको छ । सबह नेपालले गृहिणीहरुको शीपलाई व्यवसायीकरण गरी विभिन्न सामान उत्पादन गर्दै आएको छ । परियोजना सञ्चालन गर्नका लागि यूएनसीडीएफ र युनेस्क्यापले संयुक्त रुपमा खल्तीलाई वित्तीय र प्राविधिक सहयोग प्रदान गर्नेछन् । 

यस परियोजनाअन्तर्गत पूर्वमा संखुवासभा देखि पश्चिममा दार्चुलासम्मका १२ वटा जिल्लाहरुमा ३५०० भन्दा बढी महिला उद्यमीहरुलाई सहयोग गरिनेछ । खल्तीले उनीहरूलाई आत्मनिर्भर हुन र व्यवसाय थप विस्तार गर्न मद्धत पुर्याउने छ। 

साथै खल्तीले स्मार्ट छोरीहरुलाई पनि उक्त महिला उद्यमीहरुलाई सहयोग गर्न परिचालन गर्नेछ ।

इन्नोभेसन फन्डको विजेता घोषित भएपछि उत्साहित खल्तीका निर्देशक अरविन्द साहले भने–‘नेपालको सन्दर्भमा हेर्ने हो भने लघु, साना र मझौला आकारका उद्यमहरु रोजगारीका महत्वपूर्ण स्रोत हुन् । साथै यिनीहरुले देशको कुल ग्राहस्थ उत्पादनमा ठूलो हिस्सा ओगट्छन् । तर पनि यस्ता उद्यमहरुले व्यवसाय सञ्चालन तथा विस्तारका लागि ऋण र अन्य वित्तीय सेवाहरू प्राप्त गर्न कठिनाईको सामना गरिरहेका छन् । हामीहरुले खल्तीको मोबाईल एपमा एउटा डिजिटल बजारको व्यवस्था गर्दैछौँ जहाँ उनीहरुले उत्पादन गरेका वस्तु तथा सामानहरु सजिलै देशभरका ग्राहकमाझ बेच्न सक्नेछन् । साथै यसरी भएको आम्दानीको आधारमा हामीले उनीहरुलाई हाम्रा साझेदार बैंकमार्फत ऋण प्राप्त गर्न र व्यवसाय थप विस्तार गर्न सहयोग गर्नेछौं । यस कार्यक्रममार्फत देशभर महिलाले नेतृत्व गरेका लघु, साना र मझौला आकारका उद्यमहरुले फाईदा लिने कुरामा हामी विश्वस्त छौ ।’