काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियन (ईयू) की राजदूत नोना डेप्रेजबीच आज परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ। 

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताए। यसैलाई मध्यनजर गरी परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई अगाडि बढाएको राजदूत डेप्रेजलाई जानकारी गराए। 

अध्यक्ष मोरले विगतमा युरोपियन युनियन र परिसंघको सहकार्यमा अगाडी बढाइएका कार्यक्रम र परियोजनाहरुका बारेमा प्रकाश पारेका थिए। आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै उनले नेपाली हवाई उड्डयनलाई लगाएको प्रतिवन्ध हटाउनुपर्ने धारणा राखे। 

अध्यक्ष मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पु¥याई रहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गरे। त्यसैगरी भारतसँग भएको व्यापार सम्झौताअनुसार शुल्कमुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यसतर्फ सहयोग पुर्याउन राजदूत डेप्रेजलाई अनुरोध गरे। सीप विकासबाटै उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले प्राविधिक सीप विकासमा सहयोग पुर्याउन मोरले आग्रह गरे। 

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने भएकोले युरोपका मूलुकमा भएको व्यापार १० प्रतिशतले घट्ने तर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताए। उनले नेपाल र युरोपियन युनियनको सम्बन्ध माथि प्रकाश पार्दै नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सिमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमित रुपमा प्रकाशन गर्दै जाने बताए। 

परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकोले सरकारसँग सहकार्य गरिरहेको बताउँदै परिसंघले कृषिजन्य र विटुमिन लगायतका कम्तीमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्नेतर्फ परिसंघ अगाडि बढेको पौडेलले बताए। 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरुको साझा मञ्चकोरुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरुसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गरे। त्यसैगरी युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सीप विकासका लागि सहयोग गर्न उनले अनुरोध गरे। युरोपियन लगानीमा रहेको इआइडिसी पूर्वाधार विकासमा केन्द्रित भएकोले त्यसमार्फत नेपालमा लगानी बढाउन पनि उनले अनुरोध गरे। 

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकता अनुरुप युवा जनशक्तिको सिप विकास गर्नका लागि निजी क्षेत्रको सहभागितामा श्रमबजार सूचनासम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडि बढाइरहेको बताए। 

राजदूत डेप्रेजले युरोपियन युनियले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीति निर्माणमा सहयोग पुर्याउन इच्छुक रहेको बताए। स्वस्थ व्यक्ति स्वस्थ पृथ्वीको अवधारणा अगाडि सार्दै मानव गतिविधिको कारण वातावरणमा पर्ने प्रभावलाई न्यूनीकरण गर्न ग्रिन टेक्नोनोजीलाई प्रवद्र्धन, प्रविधिहरुको विकास, वातावरणसँग सम्बन्धित मापदण्डलाई आत्मसात गरी कार्बन उत्सर्जन कम गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने उनको धारणा राखे। 

राजदूत डेप्रेजले वैदेशिक लगानीको लागि नियामक निकायबाट सहज नभएको तर्क राख्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राखिन्। नेपाल एलडीसीबाट ग्र्याजुएट भएपछि प्रतिस्पर्धी क्षमता विकास गरी युरोपियन बजारबाट लाभ लिन सकिने उनको भनाइ थियो। 

त्यसैगरी नेपालबाट युरोपियन युनियनमा आवद्ध देशहरुमा निर्यात हुँदै आएको वस्तुहरु निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवद्र्धनको लागि सहयोग पुर्याउने र हवाई उड्डयनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने डेप्रेजले आश्वासन दिइन्। 

छलफलमा इयू चेम्बर अफ कमर्शका अध्यक्ष नारायण बजाजलगायत व्यक्तिहरुको उपस्थिति थियो।